आइपिएल: प्लेअफमा जाला त कोहलीको बैंगलोर ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आइपिएल: प्लेअफमा जाला त कोहलीको बैंगलोर ?



रोयल च्यालेन्जर्स बैंग्लोरले महत्वपूर्ण जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।

इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेट अन्तर्गत बिहीबार बेलुका भएको ५१ औँ खेलमा सनराइजर्स हैदरावादलाई १४ रनले हराउँदै बैंग्लोरले प्ले अफ सम्भावना कायम राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा बैंग्लोरले हैदरावादलाई २१९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर हैदरावादले कप्तान केन विलियम्सन र मनिष पाण्डयको उत्कृष्ट प्रदर्शनका बाबजुद पनि लक्ष्य भेट्टाउन सकेन ।

उसले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २०४ रन बनायो । उसका लागि कप्तान विलियम्सनले ४२ बलमा सात चौका र पाँच छक्काको सहयोगमा ८१ तथा पाण्डेले ३८ बलमा सात चौका र दुई छक्काको सहयोगमा नटआउट ६२ रन बनाए ।

दुई ओभर बाँकी हुँदा हैदरावादलाई जितका लागि ३५ रन चाहिएको थियो र विलियम्सन र पाण्डे क्रिजमा थिए । १९ औँ ओभरमा १५ रन जोडियो । अब अन्तिम ओभरमा हैदरावादलाई जितका लागि २० रन चाहिएको थियो । तर पहिलो बलमा विलियम्सन आउट भए ।

अब पाँच बलमा २० रन चाहिएको अवस्था भयो । तर मनिष पाण्डे र दीपक हुड्डाको जोडीले मात्रै पाँच बनाउन सक्यो र हैदरावाद खेल हार्न बाध्य भयो ।

यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा २१८ रन बनायो ।

उसका लागि एबी डी भिल्लियर्सले ३९ बलमा १२ चौका र एक छक्काको सहयोगमा ६९, मोइन अलीले ३४ बलमा २ चौका र ६ छक्काको सहयोगमा ६५ तथा कोलिन डी ग्राण्डहोमीले १७ बलमा ४० रन बनाए । कप्तान विराट कोहली १२ रन बनाएर आउट भएका थिए ।

२१८ रनको विशाल स्कोर बनाउनु बैंग्लोरका लागि प्ले अफको सम्भावना कायम राख्न सहयोग बन्यो । १३ खेलबाट १२ अंक जोडेको बैंग्लोर पाँचौँ स्थानमा उक्लिएको छ । शीर्ष स्थानको हैदरावादको १८ अंक रहेको छ ।