भीम रावलकै संलग्नतामा एमसीसीको रकम निकासा भएको खुलासा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

भीम रावलकै संलग्नतामा एमसीसीको रकम निकासा भएको खुलासा



काठमाडौं- अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कट्टर विरोधी मानिएका एमाले नेता भीम रावल सस्तो लोकप्रियताका लागि एमसीसीको विरोध गरेको खुलेको छ । चर्को आलोचना गर्दै सार्वजनिक रूपमा बोलिरहेका रावल एमसीसीमा आफै संलग्न भएको आरोप लागेको छ ।

रावल उपप्रधानमन्त्री बनेकै बेलामा १ अर्ब ३० करोड निकासा गरिएको खुलेको छ । उनी आफै संलग्न भएको खुलेपछि उनले चर्चाकै लागि यसको विरोध गरेको भन्दै आलोचना हुन थालेको छ । वाम विश्लेषक डम्बर खतिवडाले रावल उपप्रधानमन्त्री तथा रक्षामन्त्री भएकै बेलामा रकम निकासा गरिएको बताएका छन् ।

केपी ओली नेतृत्वको मन्त्रिपरिषदले २०७३ असोज ३१ गते एमसीसीएलाई नेपालतर्फको १ अर्ब ३० करोड निकासा दिने निर्णय गर्दा रावल नै उपप्रधान तथा रक्षामन्त्री रहेको खुलेको छ । यस आधारमा अहिले उनको विरोध ‘सस्तो लोकप्रियताका लागि पाखण्ड र बेइमानी’ भएको खतिवडाले बताएका छन् ।

खतिवडाले भनेका छन्, ‘केपी ओलीको २०७३ आषाढ ३१ गतेको मन्त्रिपरिषद् बैठकले एमसीसीएलाई नेपालतर्फको १ अर्ब ३०करोड निकासा दिने निर्णय गरेको थियो, जुन सरकारको उपप्रधानमन्त्री तथा रक्षामन्त्री कमरेड भीम रावल थिए’,

खतिवडाले अगाडी भनेका छन्, ‘सस्तो लोकप्रियताका लागि झुट र पाखण्डको राजनीति अनैतिकता र बेइमानीबाहेक केही हैन।’ यसमा रावलले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन्।

तर रावलले दिएको जवाफ अपुष्ट छ । जवाफमा रावलले फोनबाट जवाफ दिन सकिने तर्क गरेका छन् । रावलले आफू तत्कालिन मन्त्रीपरिषदमा भएपनि बैठकमा नभएको बताएका छन् ।

‘डम्बर जी, तपाईंले भन्नुभएका मन्त्रिपरिषद्का बैठकमा मेरो उपस्थिति थियो कि थिएन, कम्प्याक्टबारे के कुरा वा निर्णय भएको थियो, फोनमा सोध्नुभएको भए भनिहाल्थें’, रावलले भनेका छन्, ‘ट्विटमा सोध्नुभएछ। म रहेको मन्त्रिपरिषद्को बैठकमा कम्प्याक्टबारे कुरा भएको थिएन। देश हित र स्वाधीनताको पक्षमा जहिले पनि उभिनुपर्छ।’