भीम रावललाई टिकट नदिन बालकोटमा छुट्टै बैठक - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

भीम रावललाई टिकट नदिन बालकोटमा छुट्टै बैठक



नेकपा एमालेमा ओली इतर भनेर चिनिएका ‘१० भाई’ मध्य प्रतिनिधि सभाको उम्मेदवारका लागि एकल सिफारिस भएका एकमात्र नेता भीम रावललाई टिकट नदिन भन्दै केही नेताहरूले ओलीलाई गुहारेका छन् । अछाम १ बाट प्रतिनिधिसभा सदस्यका सिफारिस भएका रावललाई रोक्न नेताहरू ओली निवास पुगेको खुलेको छ ।

सोमबार अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका नेताहरू लेखराज भट्ट, कर्ण थापा, यज्ञ बोगटी, झपट बोहोरालगायत एक दर्जन नेताले रावलको विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको खुलेको छ ।

पार्टीको नीति विपरित बोल्ने गरेको र अनुशासन उल्लङ्घन गरेको आरोप लाग्ने गरेका रावल अछाम १ बाट एकल सिफारिस भएपछि सर्वत्र चर्चामा थिए । तर एमालेमा फरक मत राख्ने गरेको र अध्यक्ष ओलीलाई काउन्टर गर्ने गरेको भन्दै उनको विकल्प खोज्न आग्रह गरिएको छ ।

एमालेका स्थायी कमिटी सदस्य समेत रहेका कर्ण थापाले सुदूरपश्चिमका सबै नेता कार्यकर्ताको चाहाना अनुसार रावल नचलेको बताएका छन् । यसअघि पनि थापाले विभिन्न आरोप लगाउँदै आलोचना गर्ने गरेका थिए । सोमबार भएको छलफलमा पनि थापाले रावल पार्टीको नीतिविपरित चलेको बताएका थिए ।

बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले रावल कसरी एकल सिफारिस भए भन्दै प्रश्न गरेको बुझिएको छ । ओलीले नेताहरूलाई पटकपटक यो प्रश्न गरेको बताइएको छ । नेताहरूले भने रावलको विकल्प नखोजे पार्टीमा अराजकता थपिने बताएका थिए ।

पार्टीमा प्रतिपक्षी भूमिकामा रहने र गलत नीतिका विरुद्ध आवाज उठाईहाल्ने रावल २०७४ सालको निर्वाचनमा समेत सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका नेता हुन् ।

हालै सम्पन्न भएको नेकपा एमालेको दशौं महाधिवेशनमा केपी ओलीको विरुद्धमा रावल अध्यक्षमा प्रतिस्पर्धा गरेपछि ओली रा रावलको दुरी झन् बढेको छ । त्यतिमात्र होइन ओली र रावलबीच लामो समयसम्म बोलचाल समेत भएको छैन ।