भीम रावल र विष्णु पौडेलका कारण ओली तनावमा
चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास पेचिलो बन्दै गएको छ । शनिबार दिनभरि सर्वसम्मतिका लागि गरिएको प्रयास असफल भएपछि बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकारी अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
आइतबार १० बजेसम्म सर्वसम्मतिमा पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि ओलीले छलफल गर्नेछन् । ओलीलाई सो अधिकार दिँदै शनिबार राति बन्दसत्र स्थगित गरिएको छ । बन्दसत्र आइतबार बिहान १० बजे सुरु हुने महाधिवेशन प्रतिनिधि शेरबहादुर तामाङले बताए ।
चितवनको सौराहामा जारी महाधिवेशनमा शनिबार दिनभरि पदाधिकारी सर्वसम्मत निर्वाचन गराउने प्रयास ओलीले गरेका थिए । दिनभरिको प्रयास असफल भएपछि ढिलोगरी सुरु भएको बन्दसत्रमा विधान संशोधन, अध्यक्ष मण्डल गठन, माइन्युट प्रमाणीकरणलगायतका प्रस्तावमा छलफल भएको थियो ।पदाधिकारीमा सर्वसम्मत गर्ने प्रयास ओलीले जारी राखेको उनी निकट एक नेताले बताए । तर, अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका डा. भीम रावल र महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका विष्णु पौडेलको अडानका कारण ओलीलाई सर्वसम्मत सकस भएको छ ।
महाधिवेशनको बन्दसत्रमा सहभागी एक नेताका अनुसार अन्य पदमा सर्वसम्मत निर्वाचित गर्ने वातावरण बनाइसकेका ओलीलाई रावल र पौडेलका कारण सकस परेको हो । ओलीले रावललाई अध्यक्षमा उम्मेदवारी नदिई सर्वसम्मत उपाध्यक्ष बन्न गरेको प्रस्ताव उनले अस्वीकार गरेका छन् । तर, रावल स्रोतका अनुसार शनिबार ओली र रावलबीच कुनै प्रकारको छलफल वा भेटघाट नै भएको छैन ।
सर्वसम्मत पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्न बन्दसत्रले ओलीलाई अधिकार दिँदै गर्दा रावलले अध्यक्षमा आफ्नो उम्मेदवारी कायम नै रहेको बताएका छन् । मतदातामाझ उनी अध्यक्ष पदका लागि मत मागिरहेका छन् ।
एमाले स्रोतका अनुसार ओलीले वरिष्ठ उपाध्यक्षका लागि प्रस्ताव गरे रावल मान्न पनि सक्छन् । तर ओलीले अझै यस्तो प्रस्ताव गर्न सक्ने सम्भावना देखिँदैन । तर, ओलीले सर्वसम्मत भन्दै आइतबार नाम प्रस्ताव गरे बन्दसत्रमा तालीमार्फत पारित भएमा रावलको अध्यक्षमा उम्मेदवारी घोषणामै सीमित हुन सक्छ । ’cause बन्दसत्रले सर्वसम्मत प्रस्ताव पेस गर्ने अधिकार ओलीलाई दिइसकेको छ र प्रतिनिधिमा ओलीको बहुमत स्पष्ट रहेको छ । अर्कोतर्फ उम्मेदवारी दर्ता, फिर्तालगायतका प्रक्रिया नै नगरी बन्दसत्रले ओलीलाई अधिकार दिएपछि रावल तनावमा छन् ।
यस्तै, महासचिवका आकांक्षी पौडेललाई उपाध्यक्ष बन्न ओलीले गरेको प्रस्ताव पौडेलले अस्वीकार गर्दै अडान कायम नै राखेको स्रोतको दाबी छ । एमालेका पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शंकर पोखरेललाई नै महासचिव बनाउनुपर्ने अडान लिएपछि ओलीले पोखरेललाई महासचिवमा ल्याउन पौडेललाई उपाध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।
‘केपी ओली कमरेडले अन्य पदमा लगभग सर्वसम्मतको वातावरण बनाइसक्नुभएको छ । तर, भीम कमरेड र विष्णु कमरेडको अडानका कारण उहाँ तनावमा हुनुहुन्छ । उहाँहरूले पनि आफ्नो अडान छोडे सर्वसम्मत पदाधिकारी घोषणा हुन्थ्यो । तर, पनि अझै सर्वसम्मत पदाधिकारी छान्न प्रयास जारी नै छ । हेरौं अब के हुन्छ,’ ओलीनिकट ती नेताले भने ।
स्रोतका अनुसार ओली पहिला आफू सर्वसम्मत अध्यक्ष बन्ने रणनीतिमा छन् । आफू अध्यक्ष बन्ने सुनिश्चित भएको अवस्थामा अन्य पदमा उनले सजिलै मिलाउन सक्छन् । विगतमा आफूलाई सहयोग गर्दै आएका नेतालाई उनले विभिन्न पदमा व्यवस्थापन गर्न सक्छन् । ओलीनिकटका विभिन्न नेताले आकांक्षा व्यक्त गरेकै पदमा आउन नसक्ने भए पनि अन्य पदमा तलमाथि गरेर आउन सक्छन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल, युवराज ज्ञवाली, घनश्याम भुसाल र रघुवीर महासेठलाई बनाउने ओलीको भित्री रणनीति रहेको छ । महासचिवमा विष्णु कि शंकर हुनेमा विवाद छ । उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझीको नाम करिब करिब टुंगो लागिसकेको स्रोतको दाबी छ ।
यस्तै, सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, विष्णु रिमाल, प्रभु साह, लेखराज भट्टको नाममा ओलीले सहमति जुटाएको स्रोतको दाबी छ । अन्य व्यक्ति र पदका ’boutमा ओली अझै आन्तरिक गृहकार्यमै जुटेका छन् ।
एमालेको शनिबार संशोधित विधानअनुसार १९ सदस्यीय पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ । यस्तै, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सय सदस्यीय पोलिटब्युरो कमिटी गठन हुनेछ । सुरुमा पदाधिकारी र त्यसपछि केन्द्रीय सदस्यहरू नाममा सर्वसम्मत गराउने प्रयास जारी छ ।
पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने एमालेले विधानमा संशोधन गरेको छ । एमाले महाधिवेशन प्रचार समितिका संयोजक योगेश भट्टराईले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय निर्वाचित हुने बताए । यस्तै ७ प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुनेछ ।