भिम रावलको प्रस्तावमा ओलीको जवाफ: साथीहरूसँग सल्लाह गरेर भन्छु - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

भिम रावलको प्रस्तावमा ओलीको जवाफ: साथीहरूसँग सल्लाह गरेर भन्छु



काठमाडौं- विभाजनको डिलमा पुगेको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर नेताहरूलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिने र धम्क्याउने गरेपनि भित्रभित्रै भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई फकाउन अथक प्रयास गरिरहेका छन् ।

पछिल्लो समय ओलीले समुहग भन्दापनि एक्लाएक्लै बोलाएर नेताहरू भेट्ने र फकाउने गरिरहेका छन् । आइतबार पनि प्रधानमन्त्री ओलीले उपाध्यक्ष भीम रावललाई बालुवाटार डाकेर मनाउने प्रयास गरेका थिए । लामो समयपछि ओली र रावलबीच छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । हस्ताक्षर फिर्ता लिए मात्र पनि आफूले नेपाल समुहका सबै माग पुरा गर्ने आशय प्रस्तुत गर्दै पार्टी छोडेर नहिड्न आग्रह गरेका थिए । रावलले आफूहरु पार्टी एकताको पक्षमा रहेको तर त्यसका लागि हस्ताक्षर फिर्ता लिन नसकिने बताएका थिए । रावलले विवाद समाधानका लागि यसअघि बनाएको कार्यदललाई सक्रिय बनाउनुपर्ने बताएका थिए ।

रावलले ओलीलाई लहडमा चल्ने कारणले पार्टीमा यस्ता समस्या पटकपटक उत्पन्न भएको बताएका थिए । उनले विधि पद्धति सबैले मान्ने हो भने पार्टीमा कुनै समस्या नआउने बताएका थिए । पार्टी एकीकरणका सन्दर्भमा कुनै किसिमको द्धिविधामा नरहेको पनि रावलले बताएका थिए । विगतमा भएका कमिकमजोरीलाई सच्याउँदै विवाद समाधनका लागि बनेको कार्यदल सक्रिय बनाउन उनले प्रस्ताव गरेका थिए ।

रावलको प्रस्तावमा प्रधानमन्त्री ओलीले आफू सकारात्मक रहेको बताउँदै आफ्नो समुहमा छलफल गर्ने बताएका थीए । ओलीले आफ्नो समूहका नेताहरुसँग छलफल गरेर निष्कर्ष दिन भनेको स्रोतले जानकारी दिए । पार्टी विवाद चुलिँदै जाँदा उक्त कार्यदल भंग भएको नेताहरुले बताउँदै आएका थिए । पार्टी विवाद समाधानका लागि केही समयअघि १० सदस्यीय कार्यदल बनेको थियो ।

भेटमा ओलीले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन पटकपटक आग्रह गरेका थिए । रावलले अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध बहस भइरहेका बेला उक्त हस्ताक्षर फिर्ता लिनु अर्को बेइमानी भएको बताएका थिए । त्यो हस्ताक्षर पद्दतिको लडाईका लागि भएकाले पार्टी एकतासंग यो बिषय नजोड्न आग्रह गरेका थिए ।

रावलले प्रतिनिधि सभा विघटन गरेकाले हस्ताक्षर गर्नुपरेको बताएका थिए । संसद विघटन गरेकाले हस्ताक्षर गर्नुपरेको बताउँदै उनले फिर्ता हुने सम्भावना नै नभएको बताए । रावलले त्यस्तै जेठ २ मा पुगेको भनेर फागुनमा पुग्नुले पार्टी एकतामा भलो नगर्ने पनि बताएका थिए ।