ओलीले रावललाई भने- चरित्र हेर्यो भने सम्झिनलायक छैन, कसरी नेता भयो?’ - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

ओलीले रावललाई भने- चरित्र हेर्यो भने सम्झिनलायक छैन, कसरी नेता भयो?’



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावललाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेका छन्।

शनिबार प्रवासी नेपाली मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले रावलतर्फ संकेत गर्दै पार्टीभित्रका असन्तुष्टिलाई संवादमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै यस्तो आग्रह गरेका हुन्।

उनले रावलको नाम नलिई एमालेका नेताहरूका व्यवहार अनुशरणीय हुनुपर्ने बताए।

‘एमालेका नेता कार्यकर्ताहरूमा व्यक्तिगत रूपमा अनुकरणीय हुनुपर्छ। म कसैलाई अनुकरण गर्नु भन्दिनँ। अनुशरणीय हुनुपर्छ। नेताका विचार, व्यवहार, क्रियाकलाप, बोली व्यवहार अनुशरणीय हुनुपर्छ,’ उनले भने, ‘ताकी अरूले केही सिकून्। मान्छेले हेर्दा एमालेको नेता भनेको छ तर, नकारात्मक दृष्टान्त दिनुपर्यो भने त्योभन्दा नमज्जा के हुन्छ? महत्वपूर्ण जिम्मेवारीमा छ तर, चरित्र हेर्यो भने सम्झिनलायक छैन भने कसरी नेता भयो?’

प्रतिनिधिसभाको टिकट नपाएपछि असन्तुष्ट बनेका रावलले निरन्तर पार्टी नेतृत्वको विरोध गर्दै आइरहेका छन्। नेता रावलले एमालेको रप्रपा र जसपासँगको चुनावी गठबन्धनलाई पनि स्वार्थको संज्ञा दिएका छन्।

शुक्रबार दार्चुलामा ओलीले जनसागरबीच सम्बोधन गरिरहँदा पनि बीचबाट भीम रावल जिन्दावाद भन्दै उटिङ भएको थियो।

त्यसपछि अध्यक्ष ओलीले ०४८ सालदेखि नेता रावलले नै अवसर पाइरहेको र अब अन्य रावलहरूलाई पनि अवसर दिनुपर्ने बेला भएको भन्दै भिड, हुटिङ र आवाजलाई शान्त पारेका थिए।