भीम रावलको टिकट खोसिएपछि अछामका सबै कमिटीले राजीनामा दिँदै - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

भीम रावलको टिकट खोसिएपछि अछामका सबै कमिटीले राजीनामा दिँदै



नेकपा एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावलको टिकट खोसिएपछि गृहजिल्ला अछाममा असन्तुष्टि तीव्र भएको छ।

एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस रावलको टिकट खोसिएपछि एमाले अछाममा विद्रोहको तयारी भएको छ। त्यसका लागि शनिबार दिउँसो १२ बजे भीम रावलनिकट नेताहरुले अछाममा भेला डाकेका छन्।

अछामका एकजना एमाले नेताका अनुसार एकल सिफारिस भएका लामो समयदेखि सक्रिय, जित्ने उम्मेदवारको टिकट खोसेर अरुलाई दिइएको कारण पार्टीमा विद्रोहको आवस्यकता देखिएको बताए ।

क्षेत्र नम्बर १ का सम्पूर्ण कमिटी र जिल्ला कमिटी पदाधिकारीले जिम्मेवारीबाट सामूहिक राजीनामा दिने तयारी भएको बताइएको छ ।

जिल्ला कमिटी हुँदै प्रदेश कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका झपड बोहरालाई दिएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन्।

१० औँ महाधिवेशनताका सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा रावलले धावा बोलेका थिए। त्यसपछि उनीहरु दुईबीचको सम्बन्ध बिग्रिएको छ।

एमाले विभाजन हुँदा १० बुँदे सहमतिपछि माधवकुमार नेपालको साथ छोडेर रावल एमालेमै बसेका थिए।