तेस्रो पटक म्याद थपिने: यस्तो छ प्रहरीको तयारी - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

तेस्रो पटक म्याद थपिने: यस्तो छ प्रहरीको तयारी



चितवन- पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने लगायत तिनै जनालाई फेरी म्याद थप्ने तयारी प्रहरीले गरेको छ।

अनुसन्धानका बाँकी काम नसकिएकाले तेस्रो पटक म्याद थप गर्ने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार केहि प्रक्रिया सकिएका छैनन् र बयानका क्रममा मत समेत बाझिएको छ । त्यसैले आइतबार पुनः म्याद थप्ने तयारी छ ।

यस बिषयमा चितवन वार एशोसिएसनका पूर्वअध्यक्ष अधिवक्ता गोपीलाल देवकोटाले समेत म्याद थप हुने सम्भावना ९० प्रतिशत रहेको बताएका थिए ।

मत बाझियो
त्यसैगरी अनुसन्धानको क्रममा रवि लामिछाने र अस्मिता कार्कीको बयान नै बाझिएको छ। उनीहरूले बयान दिंदा एक अर्काले बताएका बयान समेत बाझिएकोले अनुसन्धानको प्रक्रिया नै जटिल बनेको स्रोतले जनाएको छ।

अस्मिता कार्की र रबि लामिछानेको बयानका क्रममा बेमेल हुने मत भेटिएकोले यस्तो अवस्था आएको बताइएको छ । बयानमा अस्मिताले आफ्नो कारणबाट सालिकरामले आत्महत्या नगरेको जिकिर गरेकी छन् ।

उनले रवि र युवराजलाई दोषी देखाएकी छन् । स्रोतका अनुसार अस्मिताले बयानमा आफ्नो र सालिकरामको सम्बन्ध राम्रो रहेको बताएकी छन ।

रविले पनि बयानमा आफ्नो कारणले घट्ना नघटेको दावी गरेका छन । रविले आफूले अस्मितालाई प्रहरी नियन्त्रणमा आएपछि मात्रै देखेको बताएका छन भने अस्मिताले पहिलेबाटै चिनजान रहेको बयान दिएकी छन् ।