'गठबन्धन ठगी धन्दा हो' भन्ने रवी आफै गठबन्धन गर्न तम्सिए - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

‘गठबन्धन ठगी धन्दा हो’ भन्ने रवी आफै गठबन्धन गर्न तम्सिए



अस्ति मात्रै गठबन्धन गरेर चुनावमा जानी जनतामाथि गरिएको ठगी हो भन्दै भाषण गरेका रवि लामिछानेले पनि चुनावमा गठबन्धन गर्ने भएका छन् ।

उनको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी गठबन्धन र तालमेल गर्न उच्चस्तरीय वार्ता समिति बनाएको छ । बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति बनाइएको हो ।

वार्ता समितिमा केन्द्रीय सदस्यहरु गणेश पराजुली, डा.अरनिको कुमार पाण्डे, सुमना श्रेष्ठ र गणेश कार्की रहेका छन् । बैठकले यसअघि गठन गरिएको निर्वाचन घोषणापत्र तयारी समिति पनि पुनर्गठन गरेको छ ।

केन्द्रीय सदस्य पाण्डेको नेतृत्वमा सो समिति गठन गरिएको पार्टी प्रवक्ता डा.मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तर उक्त पार्टीको उपत्यकास्तरीय राष्ट्रिय भेलामा रवी आफैले गठबन्धन गरेर चुनावमा जानु अपराध भएको बताएका थिए । अघिल्लो शनिबार खुलामञ्चमा सम्बोधन गर्दै विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगी धन्दा बताएका थिए ।

लामिछानेले सबै दललाई एक्ला एक्लै चुनाव लड्न समेत चुनौती दिएका थिए । उनले चुनाव एक्ला एक्लै लड्ने चिज भएको भन्दै गठबन्धन देशका लागि हानिकारक रहेको बताएका थिए ।

‘चुनाव एक्ला एक्लै लड्ने हो । टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु भनेको ठगी धन्दा हो । ‘राजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन ।’ उनले भनेका थिए ।