रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी दर्ता
काठमाडौं – राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । लामिछानेलाई राहदानी मुद्दामा शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज पौडेल सफलले अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
उनले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एवम् कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।
अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने पनि उनले बताएका छन् ।
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेले राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको थियो ।