मुख्यमन्त्री राउतले भने: मेरो मिसन पूरा भयो - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

मुख्यमन्त्री राउतले भने: मेरो मिसन पूरा भयो



सप्तरी । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकार बनाउने धेरै पहिलाको आफ्नो मिसन पूरा भएको बताएका छन् । उनले प्रदेशको नाम मधेस भएपछि सबै खुशी भएको बताएका हुन् ।

मधेश बलिदानी दिवसको अवसरमा राजविराजमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेस आन्दोलनको समयमा नेपाल सरकार लेखेको मेटाएर मधेश लेखिएको स्मरण गरे । ‘त्यस बेलादेखि नै मधेश प्रदेश होस् र मधेस सरकार बनोस् भन्ने चाहना थियो’ उनले भने, ‘अहिले त्यो चाहना पूरा भएको छ ।’

उनले मधेस प्रदेश बनाउन सहयोग गर्ने सबै सांसदलाई धन्यवाद दिएका छन् । आफ्नो दल जसपा, लोसपा, माओवादी र नेपाल संघीय समाजवादी पार्टीको एजेन्डा मधेश भएपनि यो सम्भव नभएको भन्दै उनले सबै दलका सांसदले यसमा सहयोग गरेको बताए ।

‘नेपाली कांग्रेस, नेकपा एस, नेकपा एमालेका सांसदले पनि यसमा सहयोग गरेका छन्’ मुख्यमन्त्री राउतले भने, ‘मधेस नामाकरण भएपछि कांग्रेस, नेकपा एस र एमालेका नेताले हात मिलाएर जय मधेश भन्नुभयो । उहाँहरुप्रति आभार र उच्च सम्मान प्रकट गर्दछु ।’

मधेस आन्दोलनले नै देशमा संघीयता ल्याएको बताउँदै उनले संघीयता सार्थक भइरहेको बताए ।

प्रहरी समायोजनमा संघीय सरकार बाधक

मुख्यमन्त्री राउतले सबैभन्दा पहिले आफूहरुले नै प्रहरी ऐन बनाएपनि कार्यान्वयन गर्न नसकिएको बताए । संघीय सरकारले संविधान अनुसार प्रहरीको समायोजन गर्न नसक्दा यो ऐन कार्यान्वयन नभइरहेको बताए ।

यस बिषयमा सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको बताउँदै मुख्यमन्त्री राउतले सर्वोच्चको आदेश लगत्तै प्रहरी समायोजन भएर प्रदेशको आफ्नै प्रहरी हुने बताए । उनले प्रहरीसहित प्रदेश सरकारका सबै सेवामा महिलाको ५० प्रतिशत सहभागितालाई अनिवार्य गरिसकिएको बताए ।