तीन जना बच्चासहित रौतहटमा थपिए नयाँ २२ जना संक्रमित
रौतहट-मंगलबार रौतहटको चार नगरपालिकामा थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
रौतहट जिल्लामा कुल संक्रमितको संख्या ७० पुगेको छ । सदरमुकाम गौरस्थित जुद्ध मावि क्वारेन्टाइनमा पहिलो पटक ७ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारीले बताए ।
त्यस्तै देवाही गोनाही नगरपालिकास्थित क्वारेन्टाइनमा १३ गरुडामा एक र राजदेवी नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई कहाँ राख्ने भन्ने यकिन हुन सकेको छैन ।
जिल्लामा आइसोलेसन वार्ड अभावका कारण संक्रमितहरुलाई राख्न समस्या हुन थालेको छ । संक्रमितहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । संक्रमण पुष्टि भएकाहरुमा तीन जना बालबालिकासमेत रहेका छन् ।
भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका मजदुरहरु घर फर्केसँगै कोरोना संक्रमितको संख्या जिल्लामा ह्वात्तै बढेको छ । अहिले जिल्लाको विभिन्न क्वारेन्टाइनहरुमा भारतबाट फर्केका नेपाली कामदारहरु २ हजार ७ सयका हाराहारीमा छन् ।
स्थानीय प्रशासनले भारतबाट फर्केकाहरुलाई सिधै क्वारेन्टाइनमा लैजाने गरेको छ । जिल्लामा तीन जना उपचारपछि ठीक भएका छन् ।