लोकसेवा आयुक्त पैसा खान पदमा बसेका - मुख्यमन्त्री राउत - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

लोकसेवा आयुक्त पैसा खान पदमा बसेका – मुख्यमन्त्री राउत



– काठमाडौँ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयुक्तलाई फटाहा र बेइमान भएको आरोप लगाएका छन्।

जनकपुरमा आयोजित प्रदेशस्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘आयोगका आयुक्त फटाहा र बेइमान छन्। पैसा कमाउन पदमा बसेका छन्। प्रदेश र प्रदेशभित्रको स्थानीय तहमा कर्मचारी पठाउने अधिकार हाम्रो हो। संविधानको धारा २२७ ले यो अधिकार ग्यारेन्टी गरेको छ। तर लोकसेवाका आयुक्त पैसा कमाउन र एउटा जाति र समुदायलाई कर्मचारीमा भर्ती गर्न बसेका छन्।’

यो लोकसेवा आयोगको ट्रेलर मात्र भएको भन्दै मुख्यमन्त्री राउतले अधिकार प्राप्तिका लागि दलितहरूलाई आफै सशक्त हुनु पर्ने बताए। दलितहरू आफैँ सशक्त नभएसम्म अधिकार प्राप्त गर्न नसकिने उनको भनाइ छ।

प्रदेश सरकार दलितमैत्री रहेको दाबी गर्दै उनले दलित सशक्तिकरण ऐन, छात्रवृत्ति योजना, दलित छात्रावासको निर्माणजस्ता कार्यहरूलाई अघि बढाइसकेको उल्लेख गरे।

सदनमा छलफलको क्रममा रहेको दलित सशक्तिकरण ऐन विश्वकै नमुना रहेको दाबी गर्दै मुख्यमन्त्री राउतले ऐन पारित भएपछि दलितहरूको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी प्रदेश सरकारले दिने बताए।

अबको समय दलितहरूले आफ्नो र पराया को भने छुट्याउने बेला आइसकेको दाबी गर्दै मुख्यमन्त्री राउतले २०४७ सालको परिवर्तनपछि दलितहरूले के पायो भन्ने प्रश्न आफैँसँग गर्न आग्रह समेत गरे।