अराजक बन्दै सीके राउत - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

अराजक बन्दै सीके राउत



जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने चेतावनी दिएका छन्।

पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टाभित्र नछोडिए सिरहा बजारको बीच चोकमा प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई जनकारवाही गर्ने चेतावनी राउतले दिएका हुन्।

सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको गहुँको बिउ वितरण गर्नमा ढिलो गरेपछि किसानहरुले लुटेर लगेका थिए। सोही घटनामा प्रहरीले किसानमाथि मुद्दा चलाएपछि जनमत पार्टीका कार्यकर्ताहरुले प्रर्दशन गर्दै आइरहेका छन्।

सोही क्रममा जनमत पार्टीका कार्यकर्ताले दर्जनौं गाडीमा ताडफोड गर्नुका साथै आगजनी गरेका थिए। यस घटनामा प्रहरीले जनमत पार्टीका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएपछि अवस्था थप तनावग्रस्त बनेको छ। अहिले सिरहामा निषेध आदेश लगाइएको छ।

जनतम पार्टीका अध्यक्ष सीके राउतको सचिवायलका नाममा सञ्जाल फेसबुकमा भनिएको छ, ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइरहेको छ। जाडोमा कपडा समेत उपलब्ध नगराइएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकिलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको भनेर समाचार आएको छ। यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भने कारबाही गर्न जनतालाई पनि आउँछ। सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ।’

सीके राउतका पार्टीका कार्यकर्ताहरुले यसअघि धनुषाको जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल निर्माण व्यवस्थापन आयोजनाको कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनकारवाहीको नाममा दुर्व्यवहार गरेका थिए। कुशवाहालाई कुटपिट गर्नुका साथै हिलो लगाएर अर्धनग्न अवस्थामा नगर घुमाइएको थियो।