राष्ट्रपति वाहले खेले प्रतिस्पर्धात्मक फुटबल ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राष्ट्रपति वाहले खेले प्रतिस्पर्धात्मक फुटबल !



एजेन्सी । राष्ट्रपतिले फुटबल खेलको सुन्दा अलि अचम्म लाग्न सक्छ । तर, यो वास्तविता नै हो । कुरा हो लाइबेरियाको । त्यहाँका राष्ट्रपति जर्ज वाहले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमबाट खेलेका छन् । ५१ वर्षका वाहले मंगलबार नाइजेरियासँग भएको मैत्रीपूर्ण खेलमा खेलेका हुन् ।

पूर्व फुटबलर वाह अहिले लाइबेरियाका राष्ट्रपति छन् । उनले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड प्राप्त गरेका थिए । उनले सन् १९९५ मा बोलोन डी’ओर अवार्ड जितेका थिए र उनी यो अवार्ड जित्ने पहिलो अफ्रिकी खेलाडी हुन् ।

वाह मैत्रीपूर्ण खेलको ७९ औँ मिनेटसम्म मैदानमा रहे । उनको टिम लाइबेरिया घरेलु मैदानमा नाइजेरियासँग २-१ ले पराजित भयो । लाइबेरियाले १४ नम्बरको जर्सीको सन्यासका लागि मैत्रीपूर्ण खेल आयोजना गरेको थियो । १४ नम्बरको जर्सी वाहले लगाउने गरेका थिए ।

इटालियन क्लब एसी मिलानका पूर्व स्ट्राइकर वाहले गएको जनवरीमा राष्ट्रपतिको शपथ लिएका थिए । उनी मैदानबाट बाहिरिने क्रममा स्ट्याण्डिङ्ग अवेशन पाएका थिए ।