राष्ट्रपति कार्यालयमा हेलिप्याड, भीभीआईपी पाहुना घर र स्टेट ब्यांकेट बन्ने - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

राष्ट्रपति कार्यालयमा हेलिप्याड, भीभीआईपी पाहुना घर र स्टेट ब्यांकेट बन्ने



काठमाडौँ । राष्ट्रपति कार्यालय र निवास विस्तार गरी हेलिप्याडका अतिरिक्त अत्याधुनिक र सुविधासम्पन्न ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ (राजकीय सत्कार गृह) बन्ने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

त्यसका लागि थप जग्गा आवश्यक परेकाले सरकारले नजिकको प्रहरी एकेडेमीलाई महाराजगन्जबाट सार्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले दिएका छन् ।

मन्त्रिपरिषदको भदौ २१ मा बसेको बैठकले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न प्रहरी एकेडेमी पनौती सार्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयले उक्त निर्णय गृह मन्त्रालयलाई पठाई प्रहरी एकेडेमी डेढ वर्षभित्र पनौतीमा सारिसक्न लिखित निर्देशन दिइसकेको छ ।

राष्ट्रपति कार्यालयले लामो समयदेखि शीतल निवास सानो भएकाले त्यसलाई विस्तार गरी सुविधासम्पन्न बनाउन सरकारलाई दबाब दिँदै आएको थियो । केपी ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि राष्ट्रपति कार्यालयको मागअनुसार शीतल निवासलाई सुविधासम्पन्न बनाउने प्रक्रिया अघि बढेको हो ।

राष्ट्रपति कार्यालय र निवास रहेको ‘शीतल निवास’ लाई कसरी आधुनिक र सुविधासम्पन्न बनाउन सकिन्छ भनेर सरकारले जेठ ९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । समितिमा गृह, सहरी विकास मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव र सहरी विकास तथा भवन विभागका महानिर्देशकलाई राखिएको थियो ।

कार्यदलले दिएको सुझावअनुसार राष्ट्राध्यक्षका लागि आवश्यक पर्ने सबै सुविधासहितको राष्ट्रपति कार्यालय र निवास बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सरकारले राष्ट्रपति कार्यालय परिसरमा मित्रराष्ट्रहरूबाट नेपाल भ्रमणमा आउने राष्ट्राध्यक्ष र सरकार प्रमुख तथा विशिष्ट पाहुनाहरूलाई राख्ने अत्याधुनिक र सुविधा सम्पन्न ‘अतिथि गृह’ निर्माण गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।

त्यस्तै राष्ट्रपति कार्यालयमा नेपाल भ्रमणमा आउने राष्ट्राध्यक्ष र सरकार प्रमुख तथा विशिष्ट पाहुनाहरूको सम्मानमा राष्ट्रपतिले रात्रि र दिवाकालीन भोज दिन अत्याधुनिक र सुविधा सम्पन्न ‘स्टेट ब्यांकेट’ समेत निर्माण गरिनेछ । ‘संघीय राजधानीमा विशिष्ट विदेशी पाहुनाहरूलाई राख्ने र उनीहरूको सम्मानमा राष्ट्रपति र सरकार प्रमुखले दिवा र रात्रिभोज दिने एउटा पनि सुविधासम्पन्न सरकारी आवास र स्टेट ब्यांकेट छैन । होटलहरूमा लगेर राख्नुपर्ने र राष्ट्रपति र प्रधानमन्त्रीले विशिष्ट सरकारी पाहुनालाई होटलमा नै भोज दिनुपर्ने बाध्यता छ । त्यही कारण राष्ट्रपति कार्यालयमा विशिष्ट अतिथि गृह र स्टेट ब्यांकेट बनाउन लागिएको हो’ ती अधिकारीले भने ।

राष्ट्रपति कार्यालयमा सुविधासम्पन्न हेलिप्याडसमेत निर्माण गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमा विदेशी राष्ट्रपति र सरकार प्रमुख सोझै राष्ट्रपति कार्यालयमा आउन र त्यहीँबाट बिदाइ गर्न हेलिप्याड बनाउने निर्णय भएको हो । हेलिप्याड बनाएपछि विशिष्ट अतिथिहरू मुलुक भ्रमणमा आउँदा र फर्कंदा राजधानीमा हुने ट्राफिक जामको समस्या पनि अन्त्य हुने र विदेशी पाहुनाको समेत सम्मान हुने धारणा सरकारको छ ।