राष्ट्रपति विरुद्ध प्रदर्शन - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

राष्ट्रपति विरुद्ध प्रदर्शन



काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विद्रोही नेता ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मदुरो भाग्न तम्तयार भएको बताएका छन् । पोम्पेओले राष्ट्रपति मदुरो क्युवातर्फ निर्वासनमा जान विमान तैयारी अवस्थामा राखिएको थियो । तर रुसले देश नछोड्न दबाव दिएपछि भेनेजुएलाको सेना पनि उनकै पक्षमा उभियो र मदुरोले भाग्ने योजना त्यागे ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोसहित अन्य बरिष्ठ नेताहरु मदुरोलाई हटाएर ग्वाइदोलाई समर्थन दिन तयार रहेको अमेरिकी अधिकारीहरुले यस अघि पनि भन्दै आएका थिए । तर अमेरिकी दावीको ठीक उल्टो भएको छ । जनरल पाद्रिनोले मदुरोप्रति समर्थन दोहो¥याउँदै आएका छन् ।

विपक्षी नेता ग्वाइदोको आह्वानमा भेनेजुएलाका विभिन्न शहरमा हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् । ग्वाइदोले सेनाको समर्थन हाँसिल गर्ने कोशिस गरिरहेका छन् । मंगलबार दिनैभरी सुरक्षा फौज र प्रदर्शनकारीबीच झडप भइरह्यो । राजधानी कराकसमा अश्रुग्यास प्रहार,गोली चलेको र सशस्त्र ट्यांक गुडेको तस्विरहरु सञ्चारमाध्यमहरुमा देखाइएको छ । सय जना भन्दा बढी घाइते भएको समाचारमा बताइएको छ ।

रुस, चीन र क्युवा जस्ता शक्तिशाली राष्ट्रहरु राष्ट्रपति मदुरोको पक्षमा उभिएका छन् । विद्रोही ग्वाइदोको पक्षमा अमेरिका ,अधिकांश युरोपेली देश,ल्याटिन र दक्षिणी अमेरिकी देशहरु उभिएका छन् ।

विपक्षी नेता ग्वाइदोले गत जनवरीमा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका थिए । उनले संविधान बचाउन विद्रोह गरेको बताएका थिए । तर राष्ट्रपति मदुरोले ग्वाइदोले सैनिक विद्रोह निम्त्याएको भन्दै उनको घोषणा अस्वीकार गरेका थिए । मुदुरो र ग्वाइदो दुवैले आफूले संवैधानिक राष्ट्रपति भएको दावी गर्छन् । ग्वाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे लगत्तै उनीमाथि सैनिक विद्रोह निम्त्याएको आरोप लगाइयो ।

उनको सम्पत्ति रोक्का गरिनुका साथै विदेश जान प्रतिबन्ध लगाइयो । तर आफ्नो पक्षमा समर्थन जुटाउन र मानवीय साहायता भित्र्याउने नाममा उनी फेब्रुअरी महिनामा ल्याटिन अमेरिकी देशहरुको भ्रमणमा निस्केका थिए । आफू स्वदेश फर्किए पक्राउ पर्ने खतरा जान्दाजान्दै उनी मार्च महिनाको पहिलो साता भेनेजुएला फर्किए । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित गर्न मदुरो प्रशासनलाई सचेत गराएका थिए । उनको यो शैलीलाई उनका समर्थकहरुले रचाएका छन् । ग्वाइदो स्वदेश फर्किए लगत्तै भेनेजुएलामा पुनः जनप्रदर्शन शुरु भएको छ ।

आन्तरिक द्वन्द्वमा फसेको ल्याटिन अमेरिकी देश भेनेजुएला अहिले राजनीतिक र आर्थिक संकटमा परेको छ । आर्थिक संकट त छँदैथियो अहिले राजनीतिक संकट थपिएपछि भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । अमेरिका लगायत अन्य पश्चिमी राष्ट्रहरुले विद्रोही नेता ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएपछि राजनीतिक संकट झन जटिल बनेको हो ।

ह्युगो चाभेजको मृत्युपछि मदुरो भेनेजुएलाका राष्ट्रपति भएका थिए । उनको यो दोश्रो कार्यकाल हो । भेनेजुएलामा चर्को मुद्रास्फीति, ऊर्जा संकट र दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । मदुरोको कार्यकालमा भेनेजुएलाको अर्थतन्त्र धरायसी भएको विपक्षी नेता ग्वाइदोको आरोप छ ।

राष्ट्रपति मदुरोले गैर कानुनी रुपमा सत्ता हत्याउने प्रपञ्च गरेकोमा ग्वाइदो विरुद्ध अनुसन्धान थाल्न त्यहाँको सर्वोच्च अदालतलाई आदेश दिएका छन् । भेनेजुएलाको फौज पूर्णतया राष्ट्रपति मदुरोको पक्षमा उभिएको छ ।

पेट्रोलियमको लागि धनी देश मानिने भेनेजुएलामा ऊर्जा र खाद्यान्नको संकट उत्कर्षमा पुगेको विद्रोही नेता ग्वाइदो र उनलाई समर्थन गर्ने अमेरिका तथा उसको सहयोगी राष्ट्रहरुको भनाइ छ । राष्ट्रपति मदुरो भेनेजुएलामा आर्थिक संकट नभएको दावी गर्छन् । मानवीय सहायता पठाउने नाममा अमेरिकाले भनेजुएलामा सैनिक हस्तक्षेप गर्न खोजेको मदुरोको आरोप छ ।