रुसमा शक्तिशाली मिसाइल परीक्षण, स्याटलाइटले पनि नभेट्ने - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

रुसमा शक्तिशाली मिसाइल परीक्षण, स्याटलाइटले पनि नभेट्ने



मस्को  ।

रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।तोपोल–एम नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल-आइसिबिएम) रुसको काम्चत्का प्रायद्विपमा अवस्थित प्लेसेत्स्क सैनिक अखाडाको प्रक्षेपणस्थलबाट समुद्रमा परीक्षण प्रक्षेपण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

‘गृहनिर्मित तोपोल–एम आइसिबिएम क्षेप्यास्त्रको क्षमता, शक्ति तथा विश्वसनीयता पहिलेकै अवस्थाको जस्तो छ, छैन भन्ने पुनर्पुष्टि (रिकन्फर्मेसन) गर्ने प्रयोजनवश सो परीक्षण गरिएको तथा सो परीक्षण कार्य अत्यन्त सफलतापूर्वक सम्पन्न भएको’ रुसी गृह मन्त्रालयले भनेको छ ।

रुसका सैन्य अधिकारीका अनुसार सो मिसाइलले एकैपटकमा एउटा सिङ्गै देशलाई पनि विनाश गर्न सक्नेछ । जस्तोसुकै प्रतिरक्षा हतियारलाई पनि उक्त मिसाइलले मात दिन सक्ने उनीहरुले बताए ।सफल परीक्षण गरिएको सो मिसाइल १९४५ मा हिरोसिमा र नागासाकीमा खसालिएको आणविक बमभन्दा २ हजार गुना अझ शक्तिशाली भएको रुसी सैन्य अधिकारीले दाबी गरेका छन् ।

तोपोल–एम क्षेप्यास्त्रले अधिकतम एघार हजार किलोमिटर टाढासम्म मार हान्ने क्षमता राख्दछ । यो क्षेप्यास्त्रलाई अमेरिकाको स्याटलाइटले पनि पक्रन नसक्ने बताइएको छ। साथै, करिब पाँचलाख पाँचहजार टन क्षमताका आणविक हातहतियार क्षणभरमै नष्ट गर्ने शक्ति पनि यससँग हुन्छ । यसलाई ठूलाठूला बाहन (ट्रक) मा राखी चाहेको ठाउँमा लान वा सामुद्रिक जहाजमार्फत स्थल वा जमिन दुबैठाउँबाट प्रहार गर्न मिल्छ ।

त्यस्तै आणविक हतियार र ब्लायेस्टिक मिसाइल बोकेका तीनवटा पन्डुब्बीको समेत सफल परीक्षण गरिएको बताइएको छ । त्यसमध्ये दुईवटा मिसाइल उत्तर जापान र एउटा उत्तर कोरियाको नजिकै लञ्च गरिएको जानकारी दिइएको छ ।