राष्ट्रिय पोशाक संरक्षण महा-अभियानद्वारा १० अभियन्ता सम्मानित
काठमाडौं- राष्ट्रिय पोशाक संरक्षण महा-अभियान नेपालले समाजमा विभिन्न अभियानले टेवा पुर्याएका १० जना अभियन्ताहरूलाई सम्मान गरेको छ । स्वास्थ्य, वातावरण, र समाज निर्माणमा टेवा पुर्याएका विभिन्न अभियन्ताहरूलाई एक समारोहका बिच सम्मान गरिएको हो ।
लामो समयदेखि राष्ट्रिय पोशाक र धरोहरको संरक्षण गर्ने अभियान चलाइरहेको उक्त संस्थाले समाजमा सकारात्मक प्रभाव पर्ने खालका अभियान चलाएका यस्ता व्यक्तिहरूलाई हौसला र थप उत्प्रेरणा मिलोस् भनेर सम्मान कार्यक्रमको सुरुवात गरेको संस्थाका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए । नेपाली सेनाका पूर्वसेनापति रुक्माङ्गद कटवालको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा जरोकिलो अभियानका अभियन्ता डा. गोविन्द शरण उपाध्यायको विशिष्ट आतिथ्यता रहेको थियो ।
स्वास्थ्य क्षेत्रबाट ग्रिन सिटी अस्पतालका सञ्चालक लोक बहादुर टन्डन, सामाजिक रूपमा सक्रिय कृष्ण कँडेल, वातावरण संरक्षण अभियानका आमोश चौधरी, सामाजिक अभियन्ता शिशिर भण्डारी, भाग्य न्यौपाने, नेपालको राम, मिरा केसी, अर्जुन भुसाल, १०० ग्रुप, तथा यम श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो। संस्थाले सम्मान तथा हौसलाका कार्यक्रम जारी राख्ने जनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रुक्माङ्गद कटवालले राष्ट्रिय पोशाकको अभियान चलाएको यो संस्थाले विगत देखिनै अति नै सम्माननीय काम गर्दै आएको भन्दै यस्ता कार्यक्रमहरूको निरन्तरताको लागि शुभकामना प्रदान गरेका थिए । कटवालले देशको संस्कृति बँचाउने जिम्मा युवाहरूकै भएकोले युवाहरूले सुरु गरेको यस्तो अभियानको सबैले अनुसरण गर्नुपर्ने समेत बताए । कार्यक्रममा बोल्दै डा. गोविन्द शरण उपाध्यायले युवाहरूको यस्तो कार्यको देशको भविष्य उज्ज्वलता तर्फा उन्मुख भएको बताए । उपाध्यायले यस्ता कार्यक्रममा आफ्नो सधैँ नै साथ रहने समेत बताएका थिए ।
कार्यक्रममा अतिथिहरू चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्का, वानेश्वर व्यापार ब्याबसायी सङ्घका अध्यक्ष रामशरण गिरीलगायत १ सय ५० भन्दा बढीको उपस्थिति थियो। राष्ट्रिय पोशाक संरक्षण अभियानले बनेपास्थित एक विपन्न तथा एकल महिलाको घर बनाउने घोषणा गरेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन भने सरोज थापाले गरेका थिए ।