राष्ट्रपतिका सल्लाहकारले किन दिए एकाएक राजिनामा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

राष्ट्रपतिका सल्लाहकारले किन दिए एकाएक राजिनामा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ-सल्लाहकार पदबाट सुशील प्याकुरेलले राजीनामा दिएका छन् ।

प्याकुरेलले सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट जनाउदै राजीनामा दिएका हुन् । राष्ट्रपति भण्डारीको पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालका करिव दुई वर्षका अवधिमा प्याकुरेल विज्ञ सल्लाहकारका हैसियतबाट काम गरेका थिए ।

प्याकुरेलले शुक्रबारै आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । प्याकुरेलले राजनीतिक दल गणतन्त्रलाई बलियो बनाउन तथा राष्ट्रपतिलगायत सबै उच्च संस्थाहरूको प्रभावकारिता एवम् सम्मान अभिवृद्धि गर्न राष्ट्रका सम्पूर्ण संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छ भन्ने कुरामा जोड दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त समेत रहेका प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए।

द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित सापकोटालाई सभामुख चयन गर्ने निर्णयपछि उनले पदबाट राजीनामा दिएको बुझिएको छ । प्याकुरेललाई मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।

उनले राजीनामापछि जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो ।

हामीले ठूलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणाली भित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनु पर्दछ ।

यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्दछ । साथै, गत निर्वाचनको जनमतले सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि भागवण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ।’