राष्ट्रपति भण्डारी चिन जाँदै, मन्त्रीदेखि सांसदसम्मको ५० सदस्यीय लस्कर - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

राष्ट्रपति भण्डारी चिन जाँदै, मन्त्रीदेखि सांसदसम्मको ५० सदस्यीय लस्कर



काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि आज चिन प्रस्थान गर्दैछिन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनेछ ।

चीनको राजकीय भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ  । नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ  ।

जसमा ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत छन् । नेपालका तर्फबाट सुरुमा ३५ परियोजना पेस भएकामा प्राथमिकताका आधारमा १० भन्दा कममा झार्न चीनले सुझाव दिएपछि नेपालले ९ वटा सूची तयार गरेको हो । तीमध्ये मदन भण्डारी पोलिटेक्निक इन्स्टिच्युटलाई सघाउनेबाहेक अरू प्रस्तावलाई अघि बढाउने संकेत बेइजिङले दिएको छैन ।

भण्डारीले दोस्रो बीआरआई सम्मेलनमा पनि नेपालको चासोबारे औपचारिक सम्बोधन गर्ने पनि परराष्ट्रले जनाएको छ । नेपालका राष्ट्रपतिलाई पहिलोपटक कार्यकारी भ्रमणको निम्तो दिएको चीनले भण्डारी नेतृत्वको टोलीलाई बेइजिङमा उच्च सम्मान दिँदै छ । परराष्ट्रले भ्रमण टोलीका सदस्यहरूलाई सोमबार ब्रिफिङ गरेको थियो । ५० सदस्यीय टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरू, उच्च सरकारी अधिकारीहरूलगायत सहभागी हुनेछन् ।

यसबाहेक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा पनि चीन जाँदैछन् ।