राप्तीको बगरमा निस्किएको ग्याँस ‘पेट्रोलियम’ - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

राप्तीको बगरमा निस्किएको ग्याँस ‘पेट्रोलियम’



देउखुरी : राप्ती नदीको बगरमा ग्याँस निस्किएर आगो बलेको समाचार बाहिर आएपछि खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक सुधिर रजौरेले स्थलगत अवलोकन गरेका छन् । ग्याँस निस्किएको क्षेत्रको स्थलगत अवलोकन गर्दै राप्ती नदीको बगरमा जमिन मुनीबाट ग्याँस निस्किएको सत्य भएको र यसको विस्तृत अध्ययनबाट कुन ग्याँस हो भनेर भन्न सकिने बताए ।

‘स्थलगत रूपमा यहाँ पनि आइयो, राप्ती नदीको बगरमा जमिनमुनीबाट ग्याँस निस्किएको छ, यो मिथेन हो की पेट्रोलियम ग्याँस हो, अध्ययनपछि मात्रै भन्न सकिन्छ’उनले भने–‘काठमाण्डौंमा निस्किएको जस्तै हो भने मिथेन, मिथेन होइन भने दैलेखमा निस्किएको जस्तै पेट्रोलियम ग्याँस हुनसक्छ ।’
खानी तथा भूगर्भ विभागबाट मंसिर महिनामा अध्ययनको लागि टोली पठाउने समेत उनले बताए । ‘नेपालको तराई र चुरे पर्वतको श्रृङ्खलामा पेट्रोलियम ग्याँस पाइने क्षेत्रको रूपमा चिनिन्छ, यस्तै भौगर्भिक इतिहास भएको भारतको आसाम र पाकिस्तानको पतुवारमा ग्याँस उत्पादन भैरहेको छ’उनले भने–‘राप्ती नदीको किनारबाट जुन ग्याँस निस्किएको छ, अनुमान गर्दा पेट्रोलियम ग्याँस हुन सक्छ, कति मात्रामा ग्याँस छ यसको विस्तृत अध्ययनबाट मात्रै पत्ता लगाउन सकिन्छ ।’ ग्याँस जमिनुमनि दरार परेर निस्किएको हुन्छ । तर, यसको केन्द्र कहाँ छ भन्ने वारेमा ड्रिल गरेर अध्ययनबाट बताउन सकिने उनले जानकारी दिए । ग्याँस उत्खनन् गर्न ठूलो लगानी चाहिने र त्यो लगानी ग्याँसको मात्राको आधारमा जम्मा गर्न सकिने उनले अनुभव सुनाए ।

राप्ती नदीको बगरमा ग्याँस निस्किएर आगो बल्ने गरेको समाचार असोज ७ गते प्रकाशित भएको थियो । गढवा गाउँपालिका वडा नं. ७ झारवैरा, लमही नगरपालिका वडा नं. ५ कोलही र लमही–६ लंगडीको बीच भागमा पर्ने राप्ती नदीको बगरबाट ग्याँस निस्किएको र त्यसको अध्ययन गरी वास्तविकता बाहिर ल्याउन स्थानीय हरिबहादुर डाँगीले आग्रह गरे ।

‘हाम्रो गाउँको बगरमा ग्याँस रहेको कुरा थाहा भयो तर, कति मात्रामा छ, यो कुन ग्याँस हो, सरकारले यसको अध्ययन गर्नुपर्छ’उनले भने–‘ग्याँस निस्किएको थाहा पाएर सवै खुसी त छौं तर, यसले केही हानी नोक्सानी त गर्ने होइन दुविधामा पनि परेका छौं ।’

गढवा गाउँपालिका वडा नं ७ झारवैरा गाउँ नजिक रहेको राप्ती नदीको अर्काे किनारबाट पनि ग्याँस निस्किएको छ । ‘जहाँ कमजोर भाग हुन्छ, त्यहाँबाट ग्याँस निस्कन्छ’ खानी तथा भूगर्भ विभागका महानिर्देशक रजौरेले भने–‘झारवैरा गाउँको किनारमा थोरै मात्रामा ग्याँस निस्किएको देखिएको छ ।’
स्थलगत अवलोकन टोलीमा इलाका हुलाक कार्यालय लमहीका प्रमुख आनन्द योगी, स्थानीय हरिबहादुर डाँगी, युवा शरद केसी, टंकेश्वर रजौरे, नेपाल पत्रकार महासंघ दाङ शाखाकी उपाध्यक्ष लिला शाह, रेडियो नयाँ युगका शिवु खनाललगायतको सहभागिता रहेको थियो ।