रञ्जिता श्रेष्ठको उपराष्ट्रपति बन्ने सपना चकनाचुर - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

रञ्जिता श्रेष्ठको उपराष्ट्रपति बन्ने सपना चकनाचुर



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको उपराष्ट्रपति बन्ने सपना चकनाचुर बनेको छ । पार्टीले उनलाई उम्मेदवार बनाउने निर्णय गरेपनि उनको उमेर बाधक बनेको छ । उपराष्ट्रपति पदका लागि चाहिने ४५ वर्ष उमेर पूरा नभएकाले उनी उम्मेदवार बन्न पाउने छैनन् ।

श्रेष्ठ जेलमा रहेका रेशम चौधरीकी श्रीमती हुन् । उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ गते हुँदैछ । त्यसका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

यस्तै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । जनमतले शुक्रबार नै पार्टीको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

पार्टीका एक नेताका अनुसार अध्यक्ष चन्द्रकान्त ‘सीके’ राउतले उपराष्ट्रपतिमा झाको नाम अगाडि सारेका छन् । ममत झा यसअघि स्थानीय तह निर्वाचनमा सप्तरीको राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् । उनी पार्टीको सप्तरी जिल्ला इन्चार्जसमेत हुन् ।

आठदलीय सत्ता गठबन्धनबाट भने उपराष्ट्रपति पदमा कसलाई उठाउने भन्ने सहमति भइसकेको छैन । गठबन्धनको भागबन्डा भएको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पद पाएको छ । त्यसैअनुरुप जसपाले बाराका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णयको छ । तर, निर्वाचन आयोगले पुरुष र खसआर्य उपराष्ट्रपति उम्मेदवार बन्न नपाउने बताएपछि सत्ता गठबन्धनमा यो विषय पेचिलो बनेको छ ।