मेयर-उपमेयरको केटाकेटी खेल रानीपोखरीमा - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

मेयर-उपमेयरको केटाकेटी खेल रानीपोखरीमा



रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद सतहमै देखिएको छ । यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउनुपर्छ भन्ने तथा व्यापारिक प्रयोजना उपयोग गर्नुपर्ने आवाज उठाउने पनि कम छैनन् । आजको अन्नपूर्ण पोस्टमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।

मेयर विद्यासुन्दर शाक्यले सम्पदा नमासिने गरी काम भइरहेको दाबी गरिरहेका बेला उपमेयर हरिप्रभा खड्गी पुनर्निर्माण कार्य रोक्न लागिपरेकी छन् । महानगरपालिकाले पुनर्निर्माण गर्ने क्रममा हाल रानीपोखरीको दक्षिणतर्फ पूरै, पूर्वतर्फ करिब ८० प्रतिशत र पश्चिमतर्फ जमलदेखि बालगोपाल मन्दिरसम्मको भागमा पर्खालसहित ढलान गरिएको छ । पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भने पुरातत्व विभागले गरिरहेको छ।

उपमेयर खड्गी रानीपोखरी पुग्दा भेला भएका स्थानीयले आधुनिक निर्माण सामग्रीको प्रयोगले सम्पदाको अस्तित्व संकटमा परेको गुनासो गरेका थिए । रानीपोखरी संरक्षण अभियन्ताले खड्गीको अनुगमनलगत्तै पोखरी प्रवेशमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण मंगलबारदेखि निर्माण कार्य रोकिएको छ ।

उपमेयर फर्किएको केही समयपछि मेयर विद्यासुन्दर शाक्य रानीपोखरी पुगे । शाक्य पुग्दा प्रवेशद्वारमा ताला लागेको थियो । त्यहाँ लेखिएको थियो, ‘सम्पदामाथि भएको अतिक्रमणको विरोधमा तालाबन्दी ।’

उनले ताला खुलाउन रानीपोखरी रहेको वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीलाई फोन गरे । वडाध्यक्षले ताला खोल्न नसक्ने बताएपछि शाक्यले प्रहरी बोलाएर ताला फोड्न लगाए । मेयर शाक्यले पोखरीको किनारा, चलिरहेको निर्माण कार्य, पोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिरलगायत संरचना अवलोकनमा करिब २ घन्टा बिताएका थिए ।

अवलोकनपछि आफूले पुरातत्व विभागकै स्वीकृतिमा डिजाइन गरिएअनुसार काम गरिरहेको दाबी मेयर शाक्यले गरे । उनले भने, ‘सम्पदा संरक्षण मेरो प्राथमिकताको विषय भएकाले ऐतिहासिक रानीपोखरीको मौलिकताविपरीत जान सक्दिनँ । यो योजना कार्यान्वयन म आउनुअघि महानगरपालिका, पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले निर्णय गरी काम थालिएकाले विस्तृत अध्ययनपछि मात्र म ठोस निर्णयमा पुग्नेछु ।’