रानी–जमरा सिँचाइ : नहरको पानी पुनः कर्णालीमा, मन्त्री पुनको दावी गलत - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रानी–जमरा सिँचाइ : नहरको पानी पुनः कर्णालीमा, मन्त्री पुनको दावी गलत



टिकापुर । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले मुख्य इन्टेकबाट छोडिएको पानी नहर हुँदै पुनः कर्णाली नदीमै फालेको छ। चिसापानीस्थित कर्णाली नदीमा निर्माण गरिएको मुख्य इन्टेकका तीन ढोकाबाट नहरमा पानी ल्याए पनि उक्त पानी ५ दशमलव ५ किलोमिटर दक्षिणतर्फ निर्माण गरिएको सेटलिन बेसिनमार्फत् पुनः कर्णाली नदीमै फालिएको हो।

नहरबाट ल्याइएको पानी झण्डै एक सय वर्ष अगाडिदेखि परम्परागत रुपमा सिँचाइ हुँदै आएको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित कुलरिया कुलामा फालिएको छ। ऊर्जा, जल श्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजनाको पहिलो खण्ड सम्पन्न गरी मुख्य ढोकाबाट नहरमा सिँचाइ पुर्‍याएको दाबी गरेका थिए।

नहरको संरचना पूर्ण नहुँदै सञ्चालनमा मन्त्री पुनको दावी गलत भएको भन्दै समाचार प्रकाशित भएपछि आयोजनाले मुख्यनहरका तीन ढोका सञ्चालन गरेर पानी पुनः नदीमै फालेको हो। वर्षायाममा परम्परागत रुपमा सञ्चालित कुलामा पर्याप्त पानी आउने गरेको छ। वर्षातमा आयोजनाले नहरको पानी कुलामा पठाउनु औचित्य नभएको किसानले बताएका छन्।

जमरा कुलो जलउपभोक्ता समितिका अध्यक्ष लालबीर चौधरीले नहरबाट सञ्चालित पानीको वर्षायाममा आवश्यक नभएको बताए। ‘अहिले परम्परागत रुपमै कुलाहरुबाट पानी ल्याइरहेका छौं। नहरको पानीको अहिले काम छैन, कुलामा पानीको मात्रा मात्रै बढ्नसक्छ’ चौधरीले भने, ‘आयोजनाको मुख्य इन्टेकका तीन ढोकाबाट नहरमापानी छोडेर बल्चौरस्थित सेटलिन बेसिनसम्म परीक्षण मात्रै गरिएको हो।’ आजको अन्नपूर्ण पोस्टका लागि टिकापुरबाट परमानन्द पाण्डेले यो समाचार लेखेका हुन् ।