रङ्ग विहीन होली (कविता) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

रङ्ग विहीन होली (कविता)



गुलाबी स्विटर ,
सुन्तला रङ्गको ब्लाउज ,
अनि रातो रङ्गिन त्यो फुलबुट्टे सारी

एक डब्बा चुराहरू ,
रातो पोते
सोह्र शृङारका सम्पूर्ण सामानहरू
अनि निकै समय देखी प्रेम पूर्वक
जतन गरेर राखेको सिन्दूरको डब्बा

सँगसँगै आफ्नो जिन्दगीका सम्पूर्ण रंङ पनि
एउटै झोलामा राखेर
एक साथ उनले आहुति दिएकी हुन्
श्रीमानको जल्दै गरेको चिताको अग्निसँगै
र निकै कठोरता पूर्वक भनेकी हुन्
“स्वाहा”

र प्रण गरेकी हुन् कहिल्यै नसजिने
कहिल्लै नमुस्कुराउने

र मुस्किलमे आफूलाई भ्याउन
हिम्मत गरेकी हुन् सादा पात्रको रूपमा उनले

तर विडम्बना
उनको दुखमा रोकिएन समय
रोकिएन प्रकृति

वसन्तको बहार सँगै
त्यही साल होली आयो
उत्साह उमङ्ग र रङ बोकेर

उदाङ्गै सिउँदो मलिन अनुहार र सफेद पहिरनमा
बार्दलीबाट नियालिरहेकी उनलाई
छोएन कतैबाट एक छिर्का रङ्गले पनि
रङबाट उनी सधैँ बहिष्कृत भई रहिन्

चलिरयो सालौं साल सम्म यो प्रक्रिया
होली आयो गयो
कागलाइ बेल पाके जस्तै
उनलाइ हर्ष न बिस्मात
आएन उनको जिन्दगीमा कहिल्यै होली

अँ ,
मलाइ यो साल हेर्न मन छ
अक्सर मलिन भएर बार्दलीबाट नियाल्ने उनको
अनुहारमा आउँछ या आउँदैन परिवर्तनको चमक

यो मदनोत्सवको कामुकताले
स्पर्श गर्छ या गर्दैन उनको यौवन
र सल्बलाउछ या सल्बलाउदैन चाहना

हेर्न मन छ
भरिन्छ या भरिँदैन उनको विधवा सिउँदोमा सिन्दूर

सफेद साडीमा पर्छ या पर्दैन
रङको छिर्का र बन्छ या बन्दैन रङ्गिन फुलबुट्टा

यो होलिमा कोही हिर्काउछ या हिर्काउदैन उनलाई
क्रान्तिको लोला

र सबै भन्दा बढी मलाइ यो हेर्न मन छ
फिर्ता हुन्छ वा हुँदैन
त्यो दिन अपहरित भएको उनको जिन्दगीको रंङ् ।

सुमिना ‘अभिलाषी’