एमाले नेतृ रामकुमारी झाँक्रीद्वारा कांग्रेस कार्यकर्तालाई खुट्टा भाँचिदिने चेतावनी (अडियो सहित) - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एमाले नेतृ रामकुमारी झाँक्रीद्वारा कांग्रेस कार्यकर्तालाई खुट्टा भाँचिदिने चेतावनी (अडियो सहित)



हिमाल पोस्ट /गुल्मी ,असार २२ 

निर्वाचन अघि गुल्मीमा भएको खुकुरी प्रहारको विषयमा स्थानीय शिक्षक बम बहादुर कुँवरलाई एमाले नेतृ रामकुमारी झाँक्रीले  दिएको धम्की यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ ।एमाले नेतृ रामकुमारी झाँक्री बौद्धिक युवा नेतृका रुपमा चिनिन्छन् । तर, स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला आफ्नै गाउँका एक कांग्रेस कार्यकर्तालाई धम्क्याएको अडियो सुन्दा उनको अर्को राजनीतिक धरातलमाथि नै प्रश्न उठ्न थालेको छ ।

अहिले कुँवरले लेखेको फेसबुक स्टाटस र उनीहरुबीचको भनाभनलाई सामाजिक सञ्जालमा राखेर रामकुमारी झाँक्रीमाथि आलोचना समेत गर्न थालिएको छ । एउटी राष्ट्रिय स्तरसम्म पुगेकी झाँक्रीले एकजना स्थानीय शिक्षकलाई धम्की दिँदा प्रयोग गरिएको शब्द एउटा चर्चित राजनीतिज्ञको लागि सुहाउँदो थिएन भनेर आलोचना गर्न सुरु गरिएको छ । उनले ती शिक्षकलाई अनादरार्थी शब्दको प्रयोगमात्रै गरेकी छैनन् उनले ती शिक्षकलाई गधा लगायतका तुच्छ शब्द समेत प्रयोग गरेकी छिन् । साथमा उनले खुट्टा भाँचिदिने जस्ता कुरा समेत गरेकी छिन् ।

सामाजिक सञ्जालमा लेखिएका कुनैपनि विषयमा आफ्नो चरित्र हत्या भएको लागेमा प्रहरीलाई खबर गर्न सकिने अवस्था हुँदाहुँदै दादागिरि शैलीमा खुट्टा भाँच्ने जस्ता तल्लो स्तरका कुरा गरेर उनी आफैंले आफ्नो स्तर घटाएको आरोप सामाजिक सञ्जालभरी लाग्न थालेको छ ।