रामदेवलाई नेपालको ब्राण्ड एम्बेस्डर बन्न मन्त्री आलेको प्रस्ताव - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

रामदेवलाई नेपालको ब्राण्ड एम्बेस्डर बन्न मन्त्री आलेको प्रस्ताव



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ।

आइतवार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव राखेका हुन्। मन्त्री आलेले बाबा रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिए।

नेपाल वुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन योग गुरुको रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेले बताए। योग गुरु रामदेवको माध्यमले भारतबाट नेपालमा धेरै भन्दा धेरै पर्यटक आउनेमा उनले विश्वास व्यक्त गरे। कोभिड–१९ को संक्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेको उल्लेख गर्दै मन्त्री आलेले नेपालको पर्यटनको प्रचार प्रसार गरिदिन योगगुरु रामदेवलाई आग्रह गरे।

सो अबसरमा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताए। उनले मन्त्रालयको प्रस्तावलाई गम्भिरतापूर्वक छलफल गरेर निर्णय लिने बताए। नेपाललाई समृद्ध बनाउन पतञ्जली योगपिठले गर्न सक्ने योगदानलाई कार्ययोजना बनाएर लागु गर्ने बताए। योग गुरु रामदेवले नेपाल र भारतका पूर्वजहरु साझा रहेको धारणा पनि व्यक्त गरे।