देश विकाश गर्न नैतिकता भएको नेता चाहिन्छ- रामचन्द्र पौडेल - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

देश विकाश गर्न नैतिकता भएको नेता चाहिन्छ- रामचन्द्र पौडेल



आफूलाई प्रधानमन्त्रीको दाबेदार बताएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई सुशासन दिन नैतिक शक्ति भएको नेतृत्व चाहिएको बताएका छन् । जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन पनि यस्तो नेतृत्व आवस्यक रहेको उनले बताए ।

व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबद्वारा आज आयोजित तेस्रो व्यास युवा कप २०७९ ‘९’ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताए।

मुलुकको समग्र विकास आवश्यक रहेको बताउँदै उनले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गरे। तनहुँलाई नेपालभरको नमूना जिल्लाको रुपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उनले बताए।

‘जिल्लामा बहुवर्षीय योजनाहरू सुरु भइसकेको छ। विकास हुनु भनेको बाटो, कालोपत्र मात्रै नभई जिल्लाको सर्वाङ्गिण विकासका लागि खेलकुद, संस्कृति, वातावरण, खानेपानीको विकास हो। जिल्लाले विकासको काँचुली फेर्ने अवस्थापमा रहेको छ’, वरिष्ठ नेता पौडेलले भने, ‘स्वच्छ वातावरणको विकासको अभियानमा हामी लागि रहेका छौँ।’

सबै ग्रामीण क्षेत्रमा सडक पुर्‍याएकाले अब कालोपत्र गरी विकास गर्ने र सहज बनाउने उनले बताए। खेलकुदले देशलाई समृद्ध र चिनाउने काम गरेको उनले बताए। विश्वमा फुटबल खेल हेर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली खेलाडी उत्कृष्ट रहेको उनले बताए। खेलको विकासका लागि देशले सदैव सहयोग गर्ने उनको भनाइ छ।