गगन थापा भन्छन: पूर्वराष्ट्रपतिलाई उपचार खर्च दिनु कानुनविपरीत - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

गगन थापा भन्छन: पूर्वराष्ट्रपतिलाई उपचार खर्च दिनु कानुनविपरीत



काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुनविपरीत भएको बताएका छन् ।

मन्त्रिपरिषदको मंगलबारको बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार व्यहोर्ने निर्णय गरेको थियो । तर, पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले सरकारको यो निर्णयमाथि प्रश्न उठाएका छन् ।

विदेशको उपचार खर्च व्यहोर्ने निर्णय कानुनविपरीत भएको नेता थापाको भनाइ छ ।

‘हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ– कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन । पूर्वराष्ट्रपति वा वर्तमान प्रम जो भए पनि यो कानून सबैलाई लाग्छ’, उपचार खर्च दिने सरकारको निर्णयप्रति प्रश्न गर्दै थापाले भनेका छन्, ‘सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू ?’

पूर्वराष्ट्रपति डा. यादवको पेटमा क्यान्सर देखिएपछि तीन वर्षअघि अमेरिकामा उपचार गरिएको थियो । अमेरिकाबाट स्वास्थ्यलाभ गरेर फर्किएपछि डा. यादवले हरेक वर्ष भारतको चण्डीगढस्थित पीजीआईएमईआर अस्पतालमा नियमित जाँच गराउँदै आएका छन् ।

करिब दुईसाता अघि रगतमा केही खराबी देखिएको आशंकापछि डा. यादव चण्डीगढ गएका थिए । अहिले भने उनी स्वस्थ छन् । नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव कांग्रेसका पूर्वनेता हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि केही साताअघि उपचारका लागि सिंगापुर गएका थिए । तर, उनले भने व्यक्तिगत खर्चमा स्वास्थ्य उपचार गराएको बताउने गरेका छन् ।