माओवादी नेता कार्कीले ल्याए एमसीसी संशोधन गर्न बाध्य पार्ने मध्यमार्गी प्रस्ताव - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

माओवादी नेता कार्कीले ल्याए एमसीसी संशोधन गर्न बाध्य पार्ने मध्यमार्गी प्रस्ताव



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले नेपाल शान्ति क्षेत्र प्रस्तावलाई फेरि ब्युँताउनुपर्ने प्रस्ताव राखेका छन् ।

बुधबार संसद बैठकपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा कार्कीले यो प्रस्ताव अघि सार्दै एमसीसीका असमान बुँदा संशोधन हुने समेत दावी गरे ।

‘शान्ति क्षेत्रको प्रस्तावलाई फेरि ल्याउनुपर्छ,’ उनले भने, ‘यो पहिले पनि आएको थियो । यो प्रस्तावलाई हामीले फेरि ‘मुभ’ गर्नुपर्छ । यो प्रस्ताव ल्याउना साथ एमसीसीमा जहाँ–जहाँ हाम्रो आपत्ति छ भनेका थियौं, त्यसलाई हटाएर एमसीसी पास गरिन्छ ।’

तत्कालीन राजा वीरेन्द्रले नेपाल विश्व शितयुद्धमा कसैको पनि पक्षमा नलाग्ने भन्दै शान्ति क्षेत्र प्रस्ताव ल्याएका थिए । तर, धेरै जसो राष्ट्रहरुले यसमा सर्मथन जनाउँदा पनि भारतको असहयोगका कारण यो असफल भएको थियो।

कार्कीले एमसीसीकै कारण नेपाल र अमेरिकाबीचको ७० वर्षको सम्बन्ध नबिग्रिने समेत दावी गरे । ‘अमेरिका ७० वर्षको सम्बन्ध यही एमसीसीका कारण विग्रने भन्ने हुँदैन,’ कार्कीले भने, ‘एउटै हिउँदले जाडो जाँदैन । नेपालसँगको सम्बन्ध हाम्रो लागि अमेरिकासँगको सम्बन्ध जति प्यारो छ, अमेरिकाका लागि पनि त्यति नै महत्वपूर्ण छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

कार्कीले विश्वमा अहिले शितयुद्ध सुरु भइसकेको बताउँदै त्यो नेपालकै दुई छिमेकीबीच हुने भएकाले नेपाल तथस्ट रहनुपर्नेमा जोड दिए । ‘अहिले शितयुद्ध सुरु भइसकेको छ, नेपाल न्युट्रल रहनुपर्छ,’ उनको भनाइ छ, ‘यसमा अमेरिकाले भारतलाई आफ्नो रणनीतिक साझेदार बनाउन खोजिरहेको छ । अमेरिका र चीनको बीचमा यो शितयुद्ध हुँदैछ ।’