धादिङ दुर्घटनाका घाइते भन्छन: रक्सीले मातेका चालकले तिब्र गतिमा ट्रक हाँकेका थिए - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

धादिङ दुर्घटनाका घाइते भन्छन: रक्सीले मातेका चालकले तिब्र गतिमा ट्रक हाँकेका थिए



धादिङ- मदिरा सेवन गरेर मत्त भएका चालकले मिनिट्रक चलाउँदा धादिङमा खतरनाक दुर्घटना भएको घाइतेले बताएका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिका-४मा रहेको ढोलामण्डलीमाइको दर्शन गरी भोज खाएर फर्किदै गरेको रिजर्भ मिनिट्रक दुर्घटना हुँदा सातजनाको मृत्यु भएको हो।

घटनामा ३७ भन्दा बढी यात्रुहरु घाइते भएका छन्। ट्रकमा ४५ जना यात्रु सवार रहेका थिए।

मन्दिर दर्शनपछि धादिङवेशीतर्फ फर्किदै गरेको ग १ ख ८०१२ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका-८ मैदी भन्ज्याङ नजिकै सडकमा नै पल्टिएर दुर्घटना जिल्ला प्रहरीले जनाएको छ ।

हरेक मंगलबार ढोलामण्डलीमा पाठीको बलि दिने मेला लाग्छ। उक्त मन्दिरमा चढाएको बलिलाई साविकका ढोला गाविस भित्रै पकाएर खाने प्रचलन छ। सोही मेला दर्शन गर्न ट्रक रिजर्भ गरेर गएका नीलकण्ठ नगरपालिका-२ का स्थानीय फर्कने बेलामा दुर्घटनामा परेका थिए।

दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका-२ का स्थानीय सुरेश गुरुङका अनुसार चालकले मदिरा पिएका थिए। जिल्ला अस्पतालमा उपचारको क्रममा सुरेशले भने, ‘भोजमा चालकलेसमेत रक्सी पिएका थिए, हामीले नखाउसमेत भनेका थियौँ।’

कच्ची बाटो सकिएको पीच सुरु भएको ५ सय मिटर पर पुग्नै बित्तिकै ट्रक दुर्घटनमा परेको थियो। दुर्घटनास्थल नजिकै घर भएका स्थानीय केदार श्रेष्ठका अनुसार होहल्ला र रमाइलो गर्दै आइरहेको ट्रक एक्कासी सडकमा नै बजारिन पुगेको थियो।

ट्रकका चालकलाई प्रहरी निगरानीमै उपचारको लागि काठमाडौ पठाइएको प्रहरी प्रमुख रेग्मीले बताए। देव्रे मोड्ने क्रममा भित्तामा बजारिएर दुर्घटना भएको प्रत्यक्षदर्शी नीलकण्ठ नगरपालिका ७ का विशाल अधिकारीले बताए। उनले भने, ‘हामी चढेको मोटरसाइकललाई ओभरटेक गरेर गएको ३० सेकेण्डमा ट्रक घोप्टियो, मान्छेहरु असरल्ल सडकमै पछारिए।’

दुर्घटनामा घाइते भएर जिल्ला अस्पतालमा ल्याइएका ३७ बिरामीमध्ये ११ जनालाई नेपाली सेनाको हेलिकप्टरमा र ४ जनालाई एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिए। उनले भने, ‘सामान्य घाइते भएका ८ जना घर फर्किसकेका छन्, बाँकी १४ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।’