रकम उठाएको ८ बर्ष बितिसक्दापनि बत्ति नबलेपछी सहकारी खारेजीको माग - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

रकम उठाएको ८ बर्ष बितिसक्दापनि बत्ति नबलेपछी सहकारी खारेजीको माग



विशाल पाण्डेय / घोडाघोडी ।
रकम संकलन गरेको ८ बर्ष बितिसक्दा पनि बत्ति नबालेको भन्दै स्थानीयहरुले कैलालीको एक विद्युत सहकारीको खारेजीको माग गरेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्था खोरजको माग गर्दै विभिन्न स्थानीय तहमा स्थानीयहरुले सोमबार ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा , विद्युुतिकरणका लागि घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले वि.स. २०६८ / २०६९ सालमा घोडाघोडी नगरपालिकाको वडा नं ४, ५, ७ र ९, गौरीगंगा नगरपालिकाको वडा नं ११ र कैलारी गाँउपालिकाको वडा नं ८ बाट प्रति घरधुरी रु १ हजार ५ सय देखी ३ हजारसम्म रकम संकलन गरेको उल्लेख गरिएको छ । घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले जनमुखी कन्ट्रक्सन कम्पनी प्रा.ली. संग १८ महिनामा विद्युत बाल्ने भनी ठेक्का सम्झौता गरेपनि काम सम्पन्न नहुदा नागरिक अगुवा तथा स्थानीय जनप्रतिनिधि मिलि पटकपटक ध्यानाकर्षण गराउदा पनि सहकारीले झुठो आश्वासन मात्र दिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

घोडाघोडी ग्रामिण विद्युत सहकारीले ओगटेको वा सेवा क्षेत्र विस्तार गरेको क्षेत्रबाट सेवा क्षेत्र खारेज गर्नको लागि आजको दिनदेखि एक हप्ताको समय दिइएको जानकारी दिदै एक हप्ता भित्र जनपक्षीय निर्णय नभए संघर्ष समितिले थप कार्यक्रमहरु गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

स्थानियहरुले घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाँउपालिकासंगै ईलाका प्रशासन कार्यालय सुखड र ईलाका प्रहरी कार्यालय सुखडमा ज्ञापन पत्र बुझाएका छन् । लामो समयसम्म विद्युतिकरण नहुदा घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाँउपालिकाका स्थानियहरु अन्धकारमा बस्न बाध्य भएका छन् ।

यता घोडाघोडी ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष भिम बडुवालले तार तान्ने काम ८० प्रतिशत सम्पन्न भएको हुनाले दशै भित्रमा विद्युत बल्ने बताए । अध्यक्ष बडुवालले
बिजुलि बाल्न असफल बनाउन विभिन्न जनप्रतिनिधिहरु लागिरहेको आरोप लगाए । उनले भने ,” जनप्रतिनिधि आउनु भन्दा ८ बर्ष पहिला आफुहरुको सहकारी अस्तित्वमा गएको हुनाले स्थानीय तहका जनप्रतिनिधिहरुले दुई / चार जना मान्छेहरु जम्मा गरेर केही गर्न सक्दैनन् ।” दुई वा दुई भन्दा नगरपालिका तथा गाउपालिका जोडिएको हुदा विद्युत सहकारीलाई प्रदेश सरकारले हेर्छ । उनले थपे , ” यो सहकारी नगरपालिकाको क्षेत्र अधिकार भित्र पर्दैन , सिधै प्रदेश सरकारले हेर्ने सहकारी ऎनमा उल्लेख छ ।”

जनताको अध्यारोमय जीवनलाई उज्यालो बनाउनको लागि आफुहरु लागिपरेको बताउदै अध्यक्ष बडुवालले ८ हजार सदस्यहरुले आफूलाई साथ दिएको बताए । बडुवालले सहकारीले बत्ति बाल्न लाग्यो भनेर आफुलाइ अवरोध गरि असफल गराउन लागिएको बताए ।