सरकारले कतार राजदूत कोइरालालाई फिर्ता बोलायो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सरकारले कतार राजदूत कोइरालालाई फिर्ता बोलायो



सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिए । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले आवश्यक परेकाले कोइरालालाई कतारको राजदूतबाट फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए पनि त्यसका कारण भने खुलाउन चाहेनन् । राजदूत फिर्ता बोलाउने अधिकार सरकारलाई भएकाले सोहीअनुसारको निर्णय गरिएको मन्त्री बास्कोटाको भनाइ छ ।

राजदूत कोइरालालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले कतारका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।

त्यसैगरी, सरकारले खुलामञ्चको जग्गामा अस्थायी सटर बनाउने अनुमति नदिइएको पनि स्पष्ट पारेको छ ।

त्यस्तै, मन्त्री बास्कोटासँगै पत्रकार सम्मेलनमा सहभागी भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले खुलामञ्चको जग्गा अतिक्रमण गरेर अस्थायी सटर बनाउने अनुमति नदिइएको बताए ।

तामाङले तीनकुनको जग्गामा बसपार्क बनाउने निर्णय जग्गा विवादका कारण ढिलाइ भएपछि खुलामञ्चको जग्गामा बसपार्क सञ्चालन गर्न अस्थायी रूपमा अनुमति दिइएको बताए ।

मन्त्री बास्कोटाले खुलामञ्चमा बसपार्क सञ्चालनबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

स्थानीय खुलामञ्चको जग्गा अतिक्रमण गरी अस्थायी सटर बनाउन दिएको भन्दै विरोधमा बिहीबारदेखि आन्दोलन सुरु गरेका छन् ।