राजपा र फोरमले यसरी गर्दैछन पार्टी एकता - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

राजपा र फोरमले यसरी गर्दैछन पार्टी एकता



काठमाडौँ- नेपाली राजनीतिमा कुनै पनि महत्वपूर्ण निर्णयहरु गोप्य र अनौपचारिक संवादमार्फत हुने गरे पनि मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले भने औपचारिक पत्रमार्फत पार्टी एकताबारे छलफल थालेका छन्।

गत वर्ष एमाले र माओवादी जस्ता दुई ठूला दल मिलेर सत्तारुढ नेकपा बनेपछि मधेस केन्द्रित दुई दल राजपा र फोरमलाई पनि एकताका लागि मनोवैज्ञानिक दबाब पर्दै आएको छ।

मनोवैज्ञानिक दबाबकै असर हुनुपर्छ दुई दलका नेता कसैको घर वा होटलमा बसेर वार्ता गर्नुभन्दा औपचारिक पत्र आदान प्रदान गरेर एकताको प्रयास गर्दैछन्। राजपाका अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादवले पत्रबाट पार्टी एकताका लागि तयारी भइरहेको जानकारी दिए।

यादवले भने, ‘अहिले पत्रमार्फत नै हामीले संवाद गरिरहेका छौं। अब दुई दल बसेर पनि कुराकानी गर्छौ । त्यसको वातावरण बन्दैछ।’

पार्टी एकताका लागि प्रस्ताव गर्दै फोरमले गएको पुस १९ गते राजपालाई पहिलो पत्र पठायो । पार्टी एकता प्रस्तावको स्वागत गर्दै राजपाले फागुन ३० गते फोरमलाई जवाफ पठायो।

जवाफमा राजपाले ६ वटा मधेस केन्द्रित दल मिलेर राजपा बन्दा नै फोरमलाई सहभागी गराउन नपाउँदा अपूर्ण लागेको र त्यो अपूर्णताको अवस्था अन्त्य हुन लागेको भन्दै खुशी व्यक्त गरेको छ।

यति बेला फोरम अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीपछिको दोस्रो वरियतासहित सरकारमा सहभागी छन् भने राजपा सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी कित्तामा उभिएको छ।

राजपाको पत्रमा भनिएको छ, ‘संघीय समाजावादी फोरमको बुझाइहरु अत्यन्तै यथार्थ र बस्तुपरक छन् । वर्तमान अवस्थामा केन्द्रिय राजनीतिको दुई धुव्र सत्ता पक्ष र प्रतिपक्षमा रहेका हामी बीच कसरी एकता वार्ता गर्ने ? एकता वार्ता अगाडी बढाउन संघीय समाजावादी फोरम नेपाललाई वार्ताको वातावरण बनाउन आग्रह गर्दछौं।’

बुधबार (चैत ६ गते) राजपालाई दोस्रोपटक पत्र लेख्दै फोरमले आरोप प्रत्यारोपमा नलमलिइ एकता प्रक्रियालाई ठोस रुपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

‘हामीले एक–अर्कामाथि आरोप प्रत्यारोपमा समय र शक्ति खर्च गर्नु भन्दा पनि मुलुकको वर्तमान परिस्थिति, आवश्यकता र शोषित, पीडितजनताको मुक्तिको सवाललाई नै महत्व दिई देश र जनताको भविष्यलाई ध्यानमा राखेर कार्य गर्नु नै उचित हुने जस्तो लाग्दछ, फोरमको पत्रमा भनिएको छ।

फोरमका महासचिव रामसाहयप्रसाद यादवले सरकार र प्रतिपक्षमा रहेको अवस्थाले पार्टी एकीकरणमा कुनै नपर्ने जानकारी गराइएको देश सञ्चारसँग बताए।

उनले भने, ‘ सरकारमा र प्रतिपक्षमा भएकै कारणले पार्टी एकीकरणमा असर गर्दैन। एकीकरणपछि कहाँ रहने भन्ने कुरा छलफलको विषय हुन्छ भनेका छौं ।’

पार्टी एकताबारे छलफल गर्न दुवै पक्षले पाँच/पाँच सदस्यीय वार्ता टोली गठन गरेका छन्। फोरमले यसअघि नै सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रामसहायप्रसाद यादव, रकम चेम्जोङ, प्रकाश अधिकारी र महोमद इस्तियाक राई रहेको वार्ता टोली गठन गरेको थियो ।

त्यस्तै राजपाले पनि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नेताहरु ब्रिजेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा रहेको वार्ता टोली बनाएको छ।

राजपाले वार्ता टोली बनाएको औपचारिक जानकारी पाएपछि दुई पार्टीबीच एकताका लागि छलफल सुरु हुने यादवले बताए।