स्नातकोत्तर गरेकी रजनी केसी कास्कीबाट साझा पार्टीको उम्मेदवार - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

स्नातकोत्तर गरेकी रजनी केसी कास्कीबाट साझा पार्टीको उम्मेदवार



काठमाडौं‌ । साझा पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि रजनी केसीलाई पार्टीको उम्मेदवार बनाएको छ ।

जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार पोखरा महानगरपालिका निवासी साझा पार्टी केन्द्रीय सदस्य रजनी केसी लाई पार्टीको उम्मेदवार रूपमा चयन गरेको हो। उप-निर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पार्टीले विधि-विधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने जनाएको छ।

कास्की क्षेत्र नं २, साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियान कर्ता हुन। उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्।

गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।