राजावादी आन्दोलनबारे के भन्छन नेता र नागरिक अगुवाहरू ?
काठमाडौं । कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ ।
त्यो पनि संविधानको मूल मर्म र भावना खारेजीको माग गर्दे ०६२/६३ को क्रान्तिका मुख्य उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि धावा बोल्दै पुरातनवादीहरु चरणबद्ध प्रदर्शन गरिरहेका छन् ।
देशका मुख्य शहर धनगढी, जनकपुर, बुटवल, पोखरा, विराटनगरमा फरक फरक ब्यानरमा प्रदर्शन गरेका छन् ।
उनीहरुको उद्देश्य भने एउटै देखिन्छ गणतन्त्र खारेज गरी राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गर्ने र संघीयता खारेज गर्ने ।
संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन हुन थालेपछि उपत्यकाका तीनै जिल्ला प्रशासनले आन्दोलनकारी माथि निगरानी बढाउने निर्णय गरेका छन् ।
आखिर गणतन्त्र स्थापनाको १२ वर्षमै राजावादीहरु किन सलबलाए ? नागरिक समाजका अगुवा कृष्ण पहाडी भन्छन्, गणतन्त्रपछि जति शासक आएपनि उनीहरुले यो व्यवस्थालाई बलियो बनाउनेभन्दा पनि यसलाई विकृत बनाउने काम गरिरहेका छन् ।
अहिले परम्परागत शक्ति या राजावादी सडकमा देखिनुमा सरकार बढी दोषी रहेको उनको बुझाइ छ ।
संविधानसभाका अध्यक्ष एंव नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ परिवर्तनकारी दलभित्रको विवाद र सरकारका राम्रा कामको प्रचार गरी स्वामित्व लिन नसक्दा दक्षिणपन्थीहरु सल्बलाएका तर्क गर्छन् ।
काँग्रेस नेता डा शेखर कोइराला क्रान्तिपछि प्रतिक्रान्तिका छिट्टा देखिनु स्वभाविक भएपनि सरकारको कार्यक्षमता कमजोर भएका कारण राजावादीलाई हौसला मिलेको बताउँछन् । ‘सरकारले जनअपेक्षाअनुसार काम नगरेपछि नागरिकमा निराशा त हुन्छ नै’ नेता कोइराला भन्छन्, ‘अहिलेको भन्दा पुरानै व्यवस्था ठीक रहेछ भन्ने जनतामा धारणा उत्पन्न हुन्छ । त्यसका लागि राजनीतिक दल र सरकार बढी जिम्मेवार बन्नुपर्छ ।’
जनता समाजवादी नेर्ता एंव संविधानविद लक्ष्मणलाल कर्ण सरकारको कार्यशैली र परिवर्तनकारी पार्टीभित्रको संघर्षका कारण राजावादी सलबलाएको तर्क गरेको अन्नपुर्णले लेखेको छ ।
पूर्वसभामुख दमननाथ ढुंगाना ०६२/६३ को आन्दोलनको परिवर्तनमाथि प्रश्न उठेको बताउँछन् । ‘परिवर्तनमाथि प्रश्न उठाउँदैमा पुरा हुन्छन् भन्ने हुँदैन’, ढुंगाना भन्छन्, ‘तर परिवर्तनका पक्षधरले यसलाई कसरी लिन्छन् भन्ने हो ।