राजावादीहरूलाई ठेगान लगाउने अनेरास्ववियूको चेतावनी
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा र विद्यार्थी नेताहरुले मुलुकका प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजेको भन्दै त्यस्तो प्रवृत्तिलाई नछाड्ने चेतावनी दिएका छन् ।
उनीहरुले प्रतिगामीहरुका विरुद्ध प्रतिकारमा उत्रन देशभरका नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । संविधान दिवसका अवसरिमा सन्दर्भमा अनेरास्ववियू केन्द्रीय समितिले शुक्रबार साँझ माइतीघर मण्डलामा गरेको दीप प्रज्वलन कार्यक्रममा उनीहरुले गणतन्त्रविरोधीलाई नछाड्ने चेतावनी दिए ।
कार्यक्रममा नेकपा केनद्रीय सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले प्रतिगामी तत्वले टाउको उठाउन खोजेकाले प्रतिकार गर्न युवा विद्यार्थीहरु तयार रहेको चेतावनी दिए ।
अर्का केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले आन्दोलनको आँधीहुरीले मसानघाटमा पुगेका भूत/प्रेत अहिले जाग्न खोजेकाले उनीहरुलाई ठेगान लगाइने चेतावनी दिए ।
‘हामीले धेरै ठूलो त्याग तपश्या र बलिदानबाट यो परिवर्तन ल्याएका हौं’, उनले भने, ‘मसानघाटमा पुगिसकेका भूत÷प्रेतहरुले टाउको उठाउन खोजेका छन्, जनताले उनीहरुलाई छाड्दैनन् ।’
गणतन्त्र सानो बलिदान र संघर्षबाट नआएको चर्चा गर्दै शर्माले गणतन्त्रविरोधीलाई ठेगान लगाउन सक्ने हैसियत नेकपामा रहेको बताए । अनेरास्ववियूका अध्यक्ष ऐन महरले युवा विद्यार्थी चुप लागेर बसेको मौकामा गणतन्त्रविरोधीले मुण्टो उठाउन खोजेकाले आफूहरु जागेको उल्लेख गरे ।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले इतिहास भइसकेको राजतन्त्र ब्युताँउ सकिन्छ भनेर केही तत्वले सल्बलाउन सुरु गरे पनि गणतन्त्रको जग त्यति कमजोर नभएको बताए ।