न बास छ, न आस छ : ७ करोड बढी सहयोग घोषणामा मात्र - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

न बास छ, न आस छ : ७ करोड बढी सहयोग घोषणामा मात्र



काठमाडौं । बारा र पर्साका हावाहुन्डरीमा मारिने २८ परिवारका सदस्य र घाइतेलगायतलाई सहयोगको घोषणाको श्रृङ्खला बढीरहेको छ तर उनीहरूले तत्काल ओत समेत पाउन सकेका छैनन् ।

घटना लगत्तै प्रदेश–२ सरकारले प्रत्येक परिवारलाई तीन लाखका दरले सहयोग रकम उपलव्ध गराउने घोषणा गरेको थियो । लगत्तै, नेकपाका संघीय सांसदलगायतले एक दिनको तलव दिने घोषणा गरे । यो रकमको हिसाबकिताव कम्तिमा एक करोड भन्दा बढी हुन आउँछ ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेम राईले घाइतेको उपचार सरकारले गर्ने, उपचार खर्च सरकारले दिने घोषणा गरे । पीडित परिवार मख्ख परेका छन् ।

दोस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले प्रत्येक परिवारलाई ५ लाखका दरले सहयोग रकम उपलव्ध गराउने घोषणा गरे । यो रकम कम्तिमा एक करोड ४० लाख बढी हुन आउँछ ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५ लाख रुपैंया सहयोग गर्ने घोषणा गरेका छन् । यस्तै राजपाले ५ लाख, परिवार दलले ५० हजार र यस्ता साना घोषणा गर्ने संघसंस्था च्याउसरी पुगेका छन् । तर, यी घोषणामा सीमित छन् । पीडितले उपचारका लागि अस्पताल पाएका छन् तर बस्नका लागि ओत पाएका छैनन् । गाउँको हविगत उस्तै छ, सरकारले ५ हजार त्रिपाल पनि पुराउन सकेको छैन । न संघीय सरकारले पुराएको छ न प्रदेश सरकारले ।

प्रदेश–३ को सरकारले एक करोड नगद र सांसदले एक महिनाको तलव दिने घोषणा गरेका छन् । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले १५ दिनको तलब दिने घोषणा गरेका छन् ।

यहाँसम्मकी सुदूरपश्चिम सरकारले पनि एक करोड नगद सहयोग दिने निर्णय गरिसकेको छ । हुन्डरीले घरबार भत्काएका, परिवार मासिएका पीडितका लागि घोषणा गरिएको यो रकमको आँकडाले अहिले नै गाउँ बनिसकेको जस्तो देखिन्छ । तर, उनीहरू खुला आकाशमुनि रात काट्नुको विकल्प पाइरहेका छैनन् ।

राहत रकम लिएर पुग्ने भन्दा पनि पीडित र आश गरिरहेकाहरूलाई घोषणा गरेर मात्र फर्किने प्रचलनले राजनीतिक दाउपेच मात्र चलाइएको हो की भन्ने आशंका जन्माउँछ ।