रविन्द्र मिश्रले भने: कानुन र राज्यप्रतिको अविस्वासले जनता सडकमा उत्रे - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रविन्द्र मिश्रले भने: कानुन र राज्यप्रतिको अविस्वासले जनता सडकमा उत्रे



काठमाडौं- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेताहरूले आफ्ना कमीकमजोरी ढाकछोप गर्न गणतन्त्रमाथि खतरा आएको अभिव्यक्ति दिइरहेका आरोप लगाएका छन्।

अरु कसैबाट नभई दलका नेताहरूको असक्षमताकै कारण गणतन्त्रमाथि खतरा हुनसक्ने उनले औंल्याए।

आइतबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरूको भनाइलाई ‘नाच्न नजान्ने आँगन टेढो’ को संज्ञा दिए। राजा र राजतन्त्रवादीको गलत क्रियाकलापले राजतन्त्र अन्त्य भएको चर्चा गर्दै उनले वर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरूकै कमीकमजोरीका कारण गणतन्त्र पनि खतरामा पर्नसक्ने उल्लेख गरे। ‘अरुका कारण गणतन्त्र खतरामा छैन,’ मिश्रले भने, ‘वर्तमान नेतृत्वमा रहेका दलका नेताहरूको असक्षमताले खतरा आउनसक्छ।’

पुराना दलको राजनीतिक मायाजालबाट जनता बाहिर नआएसम्म मुलुकको समृद्धि सम्भव नहुने मिश्रले दाबी गरे । दुई तिहाई बहुमतको सरकार बनेपनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडि बढ्न नसकेको भन्दै उनले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको टिप्पणी गरे। साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका रहेको उनको भनाइ थियो।

आफ्नो पार्टी सरकारको नेतृत्वमा पुगे २०४६ सालपछिका राजनीतिक दलका नेताहरूको सम्पत्ति छानबिन गर्ने र पार्टीगत रूपमा खोलिएका कर्मचारी संगठन खारेज गर्ने उनले स्पष्ट पारे।

रवि लामिछानेको समर्थनमा देशव्यापी रूपमा भइरहेका प्रदर्शनबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै संयोजक मिश्रले मुलुकमा कानुनी राजप्रति जनताको अविश्वासको संकेतका रूपमा उक्त घटनालाई आफूले लिएको बताए।