कविता : होसियार ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कविता : होसियार !



-रवीन्द्र मिश्र

लोकतन्त्रको नाममा

के बेचेनन् यिनले, सबै बेचे

लैनचौरको पर्खालभित्र

शरीर ढाक्ने वस्त्र बेचे

दिल्लीको दरबारभित्र

स्वाभिमानको अस्त्र बेचे

कोसी बेचे, गण्डकी बेचे

टनकपुर र पञ्चेश्वर बेचे

हुँदा, हुँदा अब त

प्रधानमन्त्रीको बासै बेचे

 

होसियार!

यिनको छाया बन्नुअघि

गाउँ, सहरको भीडमा

पहिले आफूलाई चिन

 

होसियार!

जेलनेलको व्यथा कहेर

सर्वाहाराको कथा बुनेर

खाडीका शेखलाई

युवाका सपना बेचे

युरोप, अमेरिकामा

सिंगो देशको विपना बेचे

मुम्बाइका गल्लीमा

चेलीका चित्कार बेचे

कलकत्ताका पसलमा

गरिबका पसिना बेचे

 

बेचे यिनले सबै बेचे

भोका पेटका गरिबलाई

भ्रमैभ्रमको खेती बेचे

हुनेखाने सबैलाई

पद-पैसाको लालसा बेचे

 

भरभराउँदो पहाड बेचे

फरफराउँदो फाँट बेचे

वन बेचे, जंगल बेचे

हाँस हाँस्ने पोखरी बेचे

चरा गाउने सिमसार बेचे

बुढेसकालको लौरो बेचे

मृत्युशैय्याको मुस्कान बेचे

देशै नयाँ खोज्न बाध्य पार्दै

सन्ततिको पहिचान बेचे

होसियार!

 

यिनको छाया बन्नुअघि

गाउँ, सहरको भीडमा

पहिले आफूलाई चिन

होसियार!

(रवीन्द्र मिश्रको फेसबुक पेजबाट )