विवेकशील साझाका अध्यक्ष भैसकेका रवीन्द्र मिश्र उपाध्यक्षमा घटुवा
काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष भैसकेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा उपाध्यक्ष बन्ने पक्का भैसकेको छ । उनी उपाध्यक्ष बनेर राप्रपामा ‘प्रवेश गर्ने’ भएका छन् ।
आज या भोलिमा उनलाई पार्टी प्रवेश गराउने तयारी हुँदैछ । टुंगोमा पुर्याउनेगरी नेताहरूबीच अहिले छलफल भइरहेको राप्रपाका एक नेताले बताए । उनी घटुवा नै भएर पनि राप्रपामा प्रवेश गर्न तयार भएपछि माहोल बनेको बताइएको छ ।
उनले सहअध्यक्ष मागेपनि पार्टीभित्रका अन्य नेताहरूले नमानेपछि उनलाई उपाध्यक्ष पदमा थन्काउने तयारी भएको हो । अहिले छलफलकै चरणमा भएको र एक दुई दिनमै निष्कर्षमा पुग्न पुग्ने बताइएको छ
मिश्र निकट एक नेताका अनुसार मिश्रले राप्रपामा सहअध्यक्ष मागेका थिए । तर, सहमति हुन नसकेपछि उनले उपाध्यक्षमा चित्त बुझाएको ती नेताको भनाइ छ । तर, उनको वरीयता भने अरू उपाध्यक्षभन्दा माथि हुने स्रोत बताउँछ । राप्रपामा ६ जना उपाध्यक्ष छन् ।
मिश्रको ‘विचारभन्दा माथि देश’ पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा असोज ३ गते विमोचन हुँदै छ । सोही दिन पुस्तक विमोचनपछि उनी राप्रपा प्रवेश गर्ने तयारीमा रहेको उनी निकट नेता बताउँछन् ।