रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाको रहस्य खुल्यो - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाको रहस्य खुल्यो



काठमाडौं ।तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर दुर्घटनामा खराब मौसमलाई नै मुख्य कारण ठहर गरिएको छ । सो दुर्घटनामा मन्त्री अधिकारीसहित सबै जनाको ज्यान गएको थियो ।

गत १५ फागुनमा ताप्लेजुङको पाथीभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस ३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनापछि सरकारद्वारा गठित छानबिन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको हो । सो प्रतिवेदनमा हेलिकोप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम नै मानिएको छ । त्यसदिन पाथीभरा क्षेत्रको मौसम राम्रो थिएन ।

प्रतिवेदनअनुसार मन्त्री सवार हेलिकोप्टर पाथीभरामा ओर्लिएपछि मौसम झनै बिग्रियो । त्यहीबीच केही समय मौसम खुलेपछि यही मौकामा उडिहालौं, फेरि मौसम बिग्रन सक्छ भन्ने कुरा भयो, त्यसपछि पाइलटले हेलिकोप्टर उडाए । हेलिकोप्टर उडेको एक मिनेटभित्रै पुनः हिउँसहितको हिमाली आँधी आयो । हेलिकोप्टर मोडिने समयमै अकस्मात आएको आँधीमा पर्दा पाइलटले सम्हाल्ने मेसो नै पाएनन् र हेलिकोप्टर दुर्घटनामा प‍रेको उल्लेख छ । यस दुर्घटनालाई छानबिन आयोगले ‘एक दुर्भाग्य’ भनेको छ ।

यस प्रतिवेदनमा मौसमबाहेक सो दुर्घटनामा मानवीय दबाब भने नदेखिएको मन्त्रालय स्रोतले जनाएको छ । छानबिन आयोगको टोलीलाई मौसमका कारण छिटो सुरक्षित स्थानमा फर्कने दबाब थियो तर उच्चपदस्थ अधिकारी कसैबाट पनि चालकलाई विमान उडाउन दबाब नदिइएको आयोगको निष्कर्ष छ । त्यस दिन मौसम निरन्तर बिग्रेका कारण उड्न नसके पाथीभरामै बास बस्नुपर्ने अवस्था आउने भएकाले टोली दबाबमा भने थियो ।