रविलाई किन मागियो ५ वर्ष कैद र ५० हजार जरिवाना ? यस्तो छ कसुर - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रविलाई किन मागियो ५ वर्ष कैद र ५० हजार जरिवाना ? यस्तो छ कसुर



चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यान सम्बन्धी कसुर गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले रवि लामिछाने, न्यूज २४ टिभिमा कार्यरत युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको हो ।

सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा पत्रकार रविसहित ३ जनाविरुद्ध शालिकराम पुडासैनीको नियतपूर्वक ज्यान मार्ने कसुर गरेको अभियोग लगाइएको छ । साथै, उनीहरुविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग पनि लगाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले अदालतमा दायर गरेको अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरु अस्मिता भनिने रुकु कार्की, युवराज कँडेल र रवि लामिछानेले एकआपसको मिलेमतो तथा संलग्नतामा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गतको दफा १७७ तथा १८५ को उपदफा (१) अनुसारको अपराध कसुर गरेको देखिँदा निज प्रतिवादीहरु अस्मिता भनिने रुकु कार्की, युवराज कँडेल र रवि लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उपदफा (२) अनुसारको सजाय हुन मागदाबी गरिएको छ ।’

प्रहरीको १० दिन लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयले आइतबार दिउँसो टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टिभिमा कार्यरत युवराज कँडेले र नर्स रुकु भनिने अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरअन्तर्गत मुद्दा दायर गरेको हो ।

तीनैजनाले ज्यानसम्बन्धी कसुर गरेको दाबी गरेपनि सरकारी वकिलको कार्यालयले सजाय भने आत्महत्या दुरुत्साहनअन्तर्गतको कसुरमा मात्रै मागदाबी गरेको छ ।

सरकारी वकिलको कार्यालय चितवनले तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता (ऐन)को दफा (१८५)को उपदफा (२) अन्तर्गत ‘हदै सम्मको’ सजाय मागदाबी गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा (१८५)को उपदफा (२) मा आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।