बुटवलमा पुस्तक संवाद ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

बुटवलमा पुस्तक संवाद !



एकाबिहानै केही युवाहरु जम्मा भए । उनीहरुले कुर्सी, टेबल मिलाए र ब्यानर टाँसे । उनीहरुको यो जमघट कुनै राजनीतिक पार्टीको चुनावी कार्यक्रम थिएन । तर उनीहरु राजनीति र समाजसँग सम्बन्धि जोडिएको विषयमा बहस गर्न जम्मा भएका थिए ।

यो दृश्य थियो आज बुटवलमा भएको एक पुस्तक संवाद कार्यक्रमको । पुस्तक थियो यज्ञशद्वारा लिखित ‘भुइयाँ’ र आयोजक थियो पाठक मञ्च बुटवल । बुटवलको सुख्खानगर स्थित लिट्स कलेजको हलमा आयोजना गरिएको पुस्तक संवाद शीर्षकको प्यानल बहसमा वक्ताहरु थिए लेखक तथा वरिष्ठ अधिवक्ता दिल साहनी र पुस्तकका लेखक यज्ञश । संवादको सहजीकरण गरेका थिए रामचन्द्र श्रेष्ठले ।

पुस्तकको विषयबारे उठेका प्रश्नहरुमाथि उत्तर दिदै लेखक यज्ञशले पुस्तक भूमि आन्दोलनमा लागेको यथार्थ पात्रहरुसँगको प्रत्यक्ष कुराकानीबाटै तयार गरेको बताए । उनले नेपालमा भूमिको असमान वितरण र भूमिहिनताबारे चित्रण गरेका उल्लेख गरे । उनले भने, “नेपालमा भूमि सम्बन्धि धेरै आयोगहरु बने । समस्याको समाधान नभई अझ बढ्दै गइरहेको छ । मान्छेको लागि जमिन अन्तिम विकल्प नभएपनि भुमिहिन सुकुम्बासीहरुको अन्य क्षेत्रमा पहुँच छैन । मैले तिनै पीडाको तापले जलेका पात्रहरुको यथार्थलाई चित्रण गर्ने कोशिस गरेको छु ।” संवादका नेपालको कम्युनिष्ट आन्दोलन र एनजिओका गतिविधिबारे चर्को बहस भयो ।

नेपाली कम्युनिष्ट पार्टीको भूमिकाबारे अर्का वक्ता दिल साहनीले जनताका जनजीविकासँग सम्बन्धित समस्याहरु पुरा नभएको भन्दै नेपालका कम्युनिष्ट पार्टीहरुले जसको जोत, उसको पोतको नारा छोडेर आफै दलाल पूँजीपति वर्गमा रुपान्तरण भएको बताए । उनले नेपालमा राजनीतिक पार्टीहरुभन्दा एनजिओ÷आइएनजिओ बढी फस्टाएको र त्यसले वास्तविक आन्दोलनलाई कमजोर बनाएको बताए ।

करिब ढाई घण्टा भएको उक्त बहसमा वक्ता तथा सहभागीहरुले भूमिहिनको आन्दोलन र भूमिहिनता, सुकुम्बासी समस्या, महिला आन्दोलन, दलित आन्दोलन, सामाजिक आन्दोलन, राजनीतिक पार्टी तथा एनजिओको भूमिकादेखि कथा प्रस्तुतिबारेसम्म संवाद गरे । बुटवलमा यसखालको प्यानल बहस पहिलो पटक आयोजना गरिएको हो । कार्यक्रममा पाठक मञ्चका रमेश पाण्डे, साहित्यकार दिपक विश्वकर्मा, खोमा तरामुमगर, माधव पौडेल, दिलिप ज्ञवाली, सुर्जन तिवारी, पूर्णचन्द्र भट्टराई लगायतले आफ्ना टिप्पणी राखेका थिए ।