पुष्प निस्किए भित्रिए संजोग ‘छक्का पञ्जा ३’मा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

पुष्प निस्किए भित्रिए संजोग ‘छक्का पञ्जा ३’मा



साइन गरिसकेको फिल्म छाड्ने नेपाली कलाकारहरुको पुरानै बानी हो । यो भीडमा अभिनेता पुष्प खड्काले पनि आफूलाई उभ्याएका छन् । हाल छायांकन भइरहेको बिग ब्यानरमा निर्मित फिल्म ‘छक्का पञ्जा ३’ बाट उनले हात झिकेका छन् ।

मुहूर्तको अघिल्लो दिनमात्र यो फिल्ममा उनको प्रवेश भएको थियो ।  पुष्पले आफ्नो भूमिका धेरै लामो नभएपनि सम्झनलायक रहेको बताएका थिए । बुझिएअनुसार, उनले आफ्नो भागको स्क्रिप्ट प्राप्त नगरेपछि फिल्म छाडेका हुन् । भूमिका राम्रोसँग नबुझाइएको, स्क्रिप्ट नदिएको र १० सिन भनिएको ठाउँमा अन्तिममा आएर ५ सिन मात्र रहेको जानकारी पाएपछि फिल्म छाडेको विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा उनले बताएका छन् ।

उता ‘छक्का पञ्जा ३’ का निर्माता तथा कलाकार दीपकराज गिरीले पुष्पले फिल्मबाट हात झिकेको खबर सत्य रहेको बताए । उनी भन्छिन्, ‘उहाँलाई हामीले गेस्ट रोलका लागि भनेर अनुबन्ध गरेका थियौँ । उहाँको ५/७ सिन मात्र थियो । उहाँले आफ्नो पारिश्रमिक पनि बुझिसक्नुभएको छ ।’

निर्माता गिरी भन्छन्, ‘तपाईको रोल यस्तो-यस्तो हुन्छ भनेर हामीले उहाँलाई अनुबन्ध गर्दा खेरि नै बताएका थियौँ । हामी गेस्ट एक्टरलाई पूरा स्क्रिप्ट दिँदैनौ ।’ उनले पुष्पको ठाउँमा अभिनेता संजोग कोइरालालाई भित्राएको जानकारी दिए । दीपाश्री निरौलाले निर्देशन गरिरहेको यो फिल्ममा दीपकराजसँगै दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।