पुष्पा भुसालले उपसभामुख जित्ने पक्का, गृहजिल्लामा खुसियाली - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

पुष्पा भुसालले उपसभामुख जित्ने पक्का, गृहजिल्लामा खुसियाली



प्रतिनिधि सभामा रिक्त उपसभामुख आज (शुक्रबार) चयन गरिँदै छ। त्यसका लागि आज दिउँसो ३ बजे मतदान गरिने संघीय संसदको सचिवालयले जनाएको छ।

उपसभामुख पदका लागि बिहीबार सत्तारुढ ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष नेकपा एमालेलेका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दिएका छन्।

तर प्रतिनिधि सभाको अंक गणितले गठबन्धनकी भुसालको जित हुने निश्चित छ।

हाल प्रतिनिधि सभामा २६६ जना सांसद छन्। २७५ सदस्यीय प्रतिनिधि सभा भए पनि ४ ठाउँ रिक्त छन् भने ४ जना निलम्बनमा परेका छन्। तसर्थ २६६ जनाको बहुमत १३४ मत भए उपसभामुख पद जित्न सकिन्छ।

यस आधारमा हेर्दा सत्ता गठबन्धनतर्फ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एकीकृत समाजवादीका २४ सांसद छन्। यति मत नै गठबन्धलाई उपसभामुख पद जित्न पुग्नेछ।

तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले २०७६ माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधि सभामा उपसभामुख पद खाली छ।

भुसाल उपसभामुख बन्ने पक्का भएपछि उनको गृहजिल्ला अर्घाखाँचीमा खुसियाली छाएको छ । अर्घाखाँचीका नेताहरूले सामाजिक संजालमा समेत खुसी ब्यक्त गरेका छन् ।