पुष्पराज पुरुषको अनौठो ठगी: नक्कली जग्गा ८ करोड ३७ लाखमा बिक्री - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

पुष्पराज पुरुषको अनौठो ठगी: नक्कली जग्गा ८ करोड ३७ लाखमा बिक्री



काठमाडौं । हर्वो इन्टरनेशनल नेटवर्किङ व्यवसाय गरेर करोडौं ठगी गरी हाल सन्यासी जीवन बिताइरहेका पुष्पराज पौडेल (पुष्पराज पुरुष)ले अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर बेचेको खुलासा भएको छ । काठमाडौं प्रहरीले नक्कली पूर्जा बनाएर ठगी गरेको आरोपमा पुष्पराज र गोकुल श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठ र पुष्पराज मिलेर पर्साको तत्कालिन मनियारी गाविस वडा नम्बर ६ मा रहेको १६ कठ्ठा जग्गा ८ करोड ३७ लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ ।

हर्वोको ऋण तिर्न किर्ते लालपूर्जा
तत्कालीन समयमा हर्वो इन्टरनेशनल नेटवर्किङका अध्यक्ष थिए पुष्पराज पौडेल । हर्वोमा आर्थिक लगानी थियो, हाम्रो ग्रुप अफ इन्भेष्टमेन्टको । यी दुवै संस्थाका अध्यक्ष पौडेल नै थिए । अहिले सो ग्रुपको नाम गोर्खा ग्रुप अफ कम्पनी राखिएको छ । तत्कालीन समयमा करोडौं ठगेको हर्वो सीआइबीको निशानामा पर्यो । अझै पनि त्यो मुद्दा जारी रहेको प्रहरी बताउँछ ।

हर्वो चलाउन पुष्पराजले हाम्रो ग्रुपबाट ऋण लिएका थिए । तर पछि लिएको रकम तिर्न नसकेपछि उनले आफूले लिएको पैसा बराबरको जमिन उपलब्ध गराउने बताए । हर्वोमाथि कारबाही भएपनि हाम्रो ग्रुप सञ्चालक समितिको अध्यक्ष भने पुष्पराज नै थिए । त्यसपछि उनले पर्साको तत्कालीन मनियारी गाविस वडा नम्बर ६ मा रहेको १६ कठ्ठा जमिन देखाए ।

कित्ता नम्बर ७४१ भन्दै उनले नक्कली पूर्जा बनाएर मालपोतको छाप र सम्बन्धित सरकारी अधिकारीको दस्तखत पनि किर्ते गरेर हाम्रो ग्रुपलाई पूर्जा दिए, जुन जमिनको मूल्याङ्कन ८ करोड ३७ लाख कायम गरियो । त्यसपछि पुष्पराज पौडेलले आफ्नो थर परिवर्तन गर्दै पुष्पराज पुरुष बनाए । उनी हाम्रो ग्रुपको सञ्चालक समितिबाट पनि हटे । हाल उनी काठमाडौंको महालक्ष्मी नगरपालिका लामाटारस्थित जयसंगत आश्रममा सन्तको भेषमा बस्दै आएका थिए ।

नयाँ समिति आएपछि पोल खुल्यो
पुष्पराज पुरुषपछि हाम्रो ग्रुप अफ कम्पनीमा नयाँ सञ्चालक समिति आयो । समितिले कम्पनीको नामसमेत परिवर्तन गर्दै गोर्खा ग्रुप अफ कम्पनी राख्यो ।

गितेन्द्रबाबु राई कार्यकारी अध्यक्ष रहेको समितिले कम्पनीको नाममा रहेको भनिएको जमिन हेर्न एउटा टोली पर्सा पठायो । तर टोलीले आफ्नो कम्पनीको नाममा रहेको भनिएको जमिन पर्साका रुदन राउतको नाममा रहेको भेट्टायो । यो कार्यमा पुष्पराजसँगै हाल गोर्खा कम्पनीकै सञ्चालक समिति सदस्य रहेका गोकुल श्रेष्ठ पनि संग्लन रहेको भेट्टिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए ।

थापाका अनुसार उनीहरुमाथि किर्ते र ठगि मुद्दा चलाइएको छ । थापाका अनुसार नक्क्ली लालपूर्जा काठमाडौंको सुन्धारास्थित एक होटलमा बनाएको अनुसन्धाबाट खुलेको छ । थापाका अनुसार पुष्पराजले आफूले गल्ती गरेको बयानमा स्वीकारसमेत गरिसकेका छन् ।

यो सामाग्री केशवराज जोशीले बाह्रखारीको लागी तयार पारेका हुन्