पूर्वमाओवादी नेताहरूमाथि कालो बादल - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

पूर्वमाओवादी नेताहरूमाथि कालो बादल



काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको सौराहामा आइतबार राति १९ जना पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरे।

आइतबार बिहानैदेखिको ‘रस्साकस्सी’ पछि दशौं महाधिवेशनलाई एकताको महाधिवेशन भन्दै ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली बन्दसत्रमा पेश गरेका थिए।

शनिबारको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्य चयन गर्ने अधिकार ओलीलाई दिएको थियो। हुनत बन्दसत्रले गरेको त्यो निर्णयको भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले तत्काल विरोध गरे।

सर्वसम्मत गरेर एकताको महाधिवेशनको सन्देश ओलीलाई दिनु नै थियो। साथै पूर्वमाओवादीका एमाले नेताहरूलाई व्यवस्थापन गर्नु ओलीको अर्को ध्येय थियो।

त्यसअघि पूर्वमाओवादीका नेताहरू ओलीलाई भेटेर तीन पदाधिकारीसहित कम्तिमा ३५ केन्द्रीय सदस्य दिनुपर्ने माग राखेका थिए। पूर्वमाओवादी नेताहरूको आग्रह ओलीले अस्वीकार गरेनन्। र, पदाधिकारीको आफ्नो प्रस्तावित सूचीमा उनले उपाध्यक्षमा रामबहादुर थापा र टोपबहादुर रायमाझी तथा लेखराज भट्टलाई सचिवमा समेटे।

‘कुनै माग र दाबी’ नरहेको भन्दै एमालेको १० औं महाधिवेशनमा मौनप्रायः बसेका पूर्वमाओवादी नेताहरू सोचेअनुसार पदाधिकारी र केन्द्रीय सदस्य पाउँदा खुशी नै थिए।

तर, सर्वसम्मत पदाधिकारीमा चयन भएर आउने थापा, रायमाझी र भट्टलाई अब त्यति सहज छैन। किनभने उपाध्यक्ष तथा सचिव पदमा उम्मेदवारी दर्ता भइसकेको छ। र, उम्मेदवारी दर्ता गर्नेहरूमा छन् एमालेका पुराना नेताहरू।

ओलीले प्रस्ताव गरेको उपाध्यक्षहरूको सूचीमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, थापा, विष्णु पौडेल र सुवास नेम्वाङको नाम थियो। तर, त्यो सूचीमा भुसाल अटाएनन्।

ओलीले तयार पारेको सूचीमा आफू नपरेपछि ९ औं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

६ जना उपाध्यक्ष पदका लागि भुसालसहित ७ जनाको उम्मेदवारी परेपछि चुनाव हुने निश्चित छ।

चुनाव हुँदा एमालेका प्रतिनिधिहरू उपाध्यक्षमा पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका थापालाई रोज्छन् कि भुसाललाई त्यो त निर्वाचनको परिणामले देखाउला।

तर, चुनाव पन्छिएर सर्वसम्मतिको पक्षमा रहेका पूर्वमाओवादी नेताहरू आफूलाई खतराको क्षेत्रमा हेर्न थालेका छन्।

मतदानमा एमालेका प्रतिनिधिहरूले एमालेका पुराना नेताहरूलाई नै मत दिनसक्ने ‘भय’ पूर्वमाओवादीको नेताहरूमा देखिएको छ।मतदानमा एमालेका प्रतिनिधिहरू उपाध्यक्षका लागि थापालाई नरोजेर भुसाललाई रोज्नसक्ने आशंका पूर्वमाओवादीबाट आएका नेताहरूले गरेका छन्।

थापाजस्तै सचिवमा मनोनित भएका रायमाझी र भट्ट पनि खतरामा पर्नसक्ने सम्भावना उत्तिक्कै छ। ७ जना सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ। त्यसैले सचिव पदमा पनि चुनाव हुने निश्चित छ।

ओलीले मनोनित गरेका सचिवहरूको सूचीमा रायमाझी, रघुवीर महासेठ, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याला र छविलाल विश्वकर्मा छन्। ९ औं महाधिवेशनबाट सचिव पदमा जितेका भीम आचार्यको नाम त्यो सूचीमा समावेश गरिएको छैन।

आचार्यका साथै ९ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका टंक कार्कीले सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

मतदानका बेला एमालेका प्रतिनिधिहरूले ‘पुराना साथी जहिल्यै आफ्नो’ को सिद्धान्त अपनाइदिए रायमाझी र भट्ट पनि रिङ्गबाट बाहिरिने सम्भावना हुनसक्दछ।

पूर्वमाओवादीका नेताहरू मनोनयन भएका पदाधिकारीकै पदमा ओलीको चाहानविपरित एमाले नेताहरूको उम्मेदवारी दर्ता भएपछि त्यो शंकालाई बल दिएको छ।

माओवादीबाट एमाले प्रवेश गरेका सबै नेताहरूलाई एमाले प्रतिनिधिहरूले ठीक ढंगबाट स्वीकार गरेका छैनन्। एमालेको सांगठनिक क्षेत्रमा उनीहरूले काम गर्ने मौकासमेत पाएका छैनन्।

त्यसैले पूर्वमाओवादीका नेताहरूभन्दा एमालेका पुराना नेताहरूलाई एमाले प्रतिनिधिहरूले मतदान गर्नसक्ने सम्भावना प्रवल छ।

भुसाल, आचार्य र कार्कीको उम्मेदवारी दर्ता भएपछि प्रतिनिधिहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन्। अर्कोतर्फ ओलीले मतदानस्थलमा आफूसहित १९ जना पदाधिकारीको सूची सार्वजनिक गरेका छन्।

प्यानल घोषणा नगर्ने भनेका ओलीले सार्वजनिक गरेको पदाधिकारी सूचीमा पूर्वमाओवादीका थापा, रायमाझी र भट्टको नाम समावेश गरिएको छ।

ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पूर्वमाओवादीका कुनै नेतालाई समेटेका छैनन्। पुराना एमालेका नेताहरूमात्र समावेश गरिएका यी पदहरूमा अरूले मनोनयन दर्ता नगरेपछि निर्विरोध निर्वाचित भइसकेका छन्।

१० औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने चाहनामाथि भीम रावलले यसअघि नै ‘ब्रेक’ लगाइदिएका छन्। रावलले उम्मेदवारी दर्ता गरेपछि ओलीले पनि अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन्।

एमाले महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ३ बजेसम्म मतदानको समय तोकिए पनि राति १० बजेसम्म मतदान सुरू हुन भने सकेको छैन ।