पुनर्वास घटनाको १७ महिना :नाका सहज तर सुचारु भएन - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

पुनर्वास घटनाको १७ महिना :नाका सहज तर सुचारु भएन



रञ्जित लामा/पुनर्वास,

कञ्चनपुरको पुनर्वास नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने नेपाली आनन्द बजारले नाम अनुसारको आनन्दको अनुभूति कहिल्यै गर्न पाएन । विसं २०२८ ताका बस्ती विकास भएको यो क्षेत्र अशान्त मात्र हैन, असङ्ख्य दुःख, कष्ट र अपमान झेल्दै आइरहेको छ ।

गत फागुन २६ गते भएको सीमा विवादको झडपका कारण यो आनन्द बजार आर्थिक तबरले समेत टाँट पल्टिएको छ । सीमा विवाद हुनु भन्दा दुई दिन अगाडिसम्म आर्थिक हिसाबले राम्रै कारोबार हुने यो आनन्द बजार घटना भएको १७ महिना बितिसक्दा पनि सुनसान नै छ । तर त्यही नजिकैको भारतीय बसही बजारमा भने घटना भएको केही महिनामै नेपालीहरूको घुइँचो लाग्दै आएको स्थानीय व्यापारीले बताए ।

नेपाल/भारत सीमा नजिकै रहेको खोल्सामा कल्भर्ट निर्माणको विषयमा विवाद चुलिँदा झडपमा भारतीय एसएसबीको गोली लागेर स्थानीय गोविन्द गौतमको ज्यान गएदेखि नै उक्त क्षेत्रमा प्रशासनले आवागमनमा रोक लगाउँदै आएको छ । तर आनन्द बजार देखि १ सय मिटर पूर्व र पश्चिमको बाटो बाट भने पुनर्वास र आसपासका नेपाली ग्राहकहरू खुलेआम भारतीय बजार बसहीबाट दैनिक लाखौँको किनमेल गर्दै आएका छन् । घटना पछि सशस्त्र प्रहरीको अस्थायी पोस्ट स्थापित भए पनि त्यही बाटोको छेऊछेऊ भएर भारतीय बजार बसही जानेहरूको लर्कोलाई पोस्टले थाम्न सकेको छैन ।

प्रशासनको यो कदमले नेपाली आनन्द बजारलाई मात्रै निषेध गरेको स्थानीय व्यापारी शेरबादुर मगरले बताए । जसले गर्दा आनन्द बजारले घटना भएको १७ महिना बिताउँदा पनि अहिलेसम्म आर्थिक हिसाबले आनन्दको महसुस गर्न नपाएको उनले दुखेसो पोखे ।

द्विपक्षीय सीमा विवाद र भारतको सीमा सुरक्षा बल (एसएसबी) ले दैनिक दिने सास्तीका कारण यहाँका बासिन्दा जहिल्यै तनावमा छन् । १७ महिने यो सीमा बन्दले पनि यहाँका बासिन्दामाथि झनै तनाव थपिएको छ । तनाव माथिको तनावले यहाँका बासिन्दा त दुःख, कष्ट र अपमान सहेरै जसोतसो बसे पनि व्यापारीहरू भने केही पलाएन भइसकेका छन् भने केही पलाएन हुने दुबिधामा रहेको स्थानीय व्यापारीहरू बताउन् छन् ।

प्रशासनले त्यो नाका हालसम्म बन्द गर्नुको कुनै अर्थ नरहेको स्थानीय बुद्धिजीवी तथा व्यापारी रामबहादुर गुरुङ्गले दाबी गरे । “तत्कालीन समयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले द्विपक्षीय झडप शान्त पार्न पाँच दिनका लागि मात्रै भनेर बन्द गरिएको नाका हालसम्म पनि सुचारु हुन नसक्नु प्रशासनको उदासीनताकै उपज हो ।” उनले भने “जोइन्ट सर्वे गरेर एककिसिमको लगत निकालिसकेको क्षेत्रमा नाका बन्द गर्नु उचित होइन ।”यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने नाकाको विषयमा भारतीयपक्षसँग नियमित बैठकमा कुरा भइरहेको बताए । “नाका सुचारुको विषयमा डी.एम.सँग कुरा भइरहेको छ ।” उनले भने “नाका सुचारु हुने/नहुने र कहिल्यै सम्म हुने भन्ने कुनै निश्चित छैन ।”

यो १६ महिने बाटो बन्दले नेपाली आनन्द बजारलाई मात्रै सुनसान बनाएको छ, आर्थिक हिसाबले टाँट पल्टाइदिएको छ, शत्रुता साँधिएको छ तर सीमा पारिका बसही बजारलाई भने कुनै असर पार्न सकेको छैन, तत्कालीन समयमा देश प्रेम र राष्ट्रप्रेमका कुरा गर्नेहरू, सीमा सङ्घर्षका मोर्चा सम्हालेकाहरू नै यतिखेर भारतीय बजारमा घरायसी सामानहरू किनमेल गर्न लाम लागेको दृश्यले हरकसैको ध्यान सहजै तान्ने गरेको छ ।